बिमा साक्षरता अभियानलाई तीव्र बनाउन आवश्यक : अर्थमन्त्री पौडेल

काठमाण्डौ। उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिमा साक्षरता अभियानलाई तीव्र बनाउन आवश्यक रहेको बताउनुभएको छ ।

बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्नुहुँदै उहाँले बिमा क्षेत्रलाई प्रभावकारी र दिगो बनाइ दुर्गम तथा न्युन आय भएका वर्ग लगायत समाजका सबै तह र कारोबारमा बिमा सेवाको पहुँच पुर्‍याउन बिमा साक्षरता अभियानलाई तीव्र बनाउनुपर्नेमा जोड दिनुभएको हो ।

अर्थमन्त्री पौडेलले सरकार नागरिकको जीवन चक्रमा आधारित भएर बिमाको पहुँच विस्तार र सेवाको प्रभावकारिता बढाउन उद्धत रहेको उल्लेख गर्नुभयो । उहाँले जोखिम न्यूनीकरणका माध्यमबाट उत्थानशिल समाज र सुदृढ अर्थतन्त्र निर्माण गर्ने दिशामा सरकार निरन्तर क्रियाशिल रहेको बताउनुभयो ।

उपप्रधानमन्त्री पौडेलले स्वास्थ्य बिमा, लघु बिमा, कृषि बिमा, सहुसलयतपूर्ण कर्जाको बिमा विस्तार नियमनकारी निकायको नियामकीय क्षमतामा विकास, सरल र शिघ्र दाबी भुक्तानी प्रणालीको तीव्र विस्तार, बिमा जालसाझी नियन्त्रण जस्ता विषयलाई सरकारले प्राथमिकताका साथ कार्यान्वयनमा ल्याएको बताउनुभयो ।

उहाँले बिमकहरुको जोखिम न्यूनीकरणका लागि जोखिममा आधारित सुपरीवेक्षण प्रणाली लागू गर्ने, बिमा क्षेत्रको नियमन सबल, प्रभावकारी र व्यवसायिक बनाउन नियामक निकायको क्षमता अभिवृद्धि गर्ने, पुनर्बिमाको संस्थागत क्षमता वृद्धि गर्ने, बिमकको लगानी गरेको रकमलाई सुरक्षित र प्रतिफलमुखी क्षेत्रमा लगानीका लागि वतावरण तयार गर्ने जस्ता विषयलाई सरकारले प्राथमिकतामा राखेको उल्लेख गर्नुभयो ।

अर्थमन्त्री पौडेलले बीमा क्षेत्रको प्रवर्द्धन र विकासका निम्ति सरकारले निरन्तर प्रयास गरिरहेको बताउनुभयो । उहाँले सबै कार्यक्रममा मन्त्रीलाई बोलाउनुपर्छ भन्ने मान्यताबाट बाहिर निस्किन आग्रह गर्नुभयो ।