तिब्बत भूकम्प : मृतकको सङ्ख्या ५३ पुग्यो
काठमाण्डौ। तिब्बतको सिगात्से सहरमा आज गएको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ५३ पुगेको छ । चिनियाँ सञ्चारमाध्यम सिन्हाका अनुसार आज बिहान गएको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ५३ पुगेको छ भने ६२ जना घाइते भएको प्रारम्भिक विवरण आएको छ ।
आज बिहान स्थानीय समयअनुसार नेपालको उत्तरपूर्वी सीमानजिकै चीनको सिजाङ स्वशासित क्षेत्रको डिङ्गयी काउन्टी केन्द्र भएर भूकम्प गएको हो ।
स्थानीय समयअनुसार बिहान ९ बजेर ५ मिनेट जाँदा ६.८ म्याग्निच्युडको भूकम्प गएको भूकम्प मापनसम्बन्धी चीनको आधिकारिक निकाय चाइना अर्थक्वेक नेटवक्र्स सेन्टरले जनाएको छ । सेन्टरका अनुसार भूकम्पको उद्गम बिन्दु (गहिराइ) १० किलोमिटर रहेको छ ।
यूएस जियोलोजिकल सर्भेले भने भूकम्पको मापन ७.१ म्याग्निच्युड रहेको जनाएको छ भने नेपालको राष्ट्रिय भूकम्प मापन केन्द्रले ७.० म्याग्निच्युडको भूकम्प गएको जनाएको छ । भूकम्पको धक्का नेपालका विभिन्न जिल्लासँगै भुटानको थिम्पु, भारतको बिहार र बङ्गलादेशसम्म महसुस गरिएको छ ।