भूकम्पबाट अहिलेसम्म क्षति छैन, थप विवरण सङ्कलन गर्न सर्कुलर : नेपाल प्रहरी

काठमाण्डौ । आज बिहान गएको भूकम्पबाट अहिलेसम्म क्षतिको कुनै पनि विवरण प्राप्त नभएको नेपाल प्रहरीले जनाएको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा सूचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीका अनुसार देशभर प्रहरी परिचालन गरेर विवरण सङ्कलन गर्ने काम भइरहेको छ ।

विशेषगरी उत्तरी क्षेत्रमा स्थानीयस्तरमा पुगेर जानकारी लिन निर्देशन भएको उहाँले जानकारी दिनुभयो । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले पनि अहिलेसम्म भूकम्पबाट भएको क्षतिको विवरण नआइसकेको जनाएको छ ।

बिहान ६ बजेर ५० मिनेटमा गएको भूकम्प ७ म्याग्निच्युडको रहेको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । तिब्बतको दिङ्गे काउन्टी केन्द्रबिन्दु बनाएर गएको भूकम्प सगरमाथाबाट झण्डै ९० किलोमिटर उत्तरमा रहेको छ ।

भूकम्पको धक्का नेपालमा काठमाण्डौ उपत्यकासहित पूर्वी पहाडी र तराई क्षेत्रमा महसुस गरिएको थियो । त्यस्तै चीन, भारत, बङ्गलादेश र भुटानमा पनि धक्का महसुस गरिएको छ ।