क्यानाडाका प्रधानमन्त्री ट्रुडोले दिए राजीनामा

क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले लिबरल पार्टीको नेता तथा प्रधानमन्त्री पदबाट राजीनामा दिनुभएको छ ।

आफ्नो नेतृत्वप्रति बढ्दो असन्तुष्टिकाबीच प्रधानमन्त्री ट्रुडोले हिजो राजीनामा दिनुभएको हो । उहाँले लिबरल पार्टीको नयाँ नेता चयन नभएसम्म प्रधानमन्त्री पदमा रहने बनाउनुभएको बीबीसीले जनाएको छ ।

विभिन्न आन्तरिक विवादका बीच रोकिएको संसद् यही जनवरी २७ मा पुनः सुरू हुन लागेकामा अब आउने मार्च २४ सम्म स्थगित हुने भएको छ । यो बीचमा लिबरल पार्टीको नेतृत्व प्रतिस्पर्धाको लागि अवसर हुने खबरमा उल्लेख छ ।

कन्जर्भेटिभ पार्टीको १० वर्षको शासनपछि ट्रुडो सन् २०१५ मा सत्तामा आउनुभएको थियो । पछिल्लो समय अर्थमन्त्रीको अचानक बिदाइले सरकारभित्र बढ्दो उथलपुथलको सङ्केत गरेपछि उहाँले राजीनामा घोषणा गर्नुभएको छ । राजनीतिक उथलपुथलले क्यानाडालाई अन्तर्राष्ट्रियस्तरमै कठिन स्थितिमा ल्याएको छ ।

नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा आप्रवासी र लागूपदार्थको प्रवाह नरोके सबै क्यानाडाली सामानहरूमा २५ प्रतिशत भन्सार महसुल लगाउने बताउँदै आउनुभएको छ । तस्वीर : एजेन्सी