प्रधानमन्त्री भएको भोलिपल्टबाटै प्रचण्डमा पुरानै चरित्र प्रदर्शन हुन थाल्यो: प्रधानमन्त्री ओली
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री भएको भोलिपल्टैदेखि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबाट पुरानै चरित्र प्रदर्शन गरेको दाबी गर्नुभएको छ।
आइतबार सुरु भएको एमालेको आठौं केन्द्रीय कमिटी बैठकमा राजनीतिक प्रतिवेदन पेस गर्दै एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले सो दाबी गर्नुभएको हो। प्रधानमन्त्री ओलीले जनताको अभिमतलाई सम्मान गर्दै उपलब्ध विकल्पमध्ये २०७९ मङ्सिरमा सम्पन्न निर्वाचन लगत्तै प्रचण्डलाई प्रधानमन्त्रीमा प्रतावित गरेर नयाँ समीकरण निर्माण गरेको प्रतिवेदनमा उल्लेख गर्नुभएको छ।
प्रतिवेदनमा भनिएको छ, ‘तर प्रधानमन्त्री भएको भोलिपल्टदेखि नै प्रचण्डबाट आफ्नो पुरानै चरित्र प्रदर्शन हुन थाल्यो। राष्ट्रपतिको निर्वाचनको बिन्दुसम्म आइपुग्दा त माओवादी केन्द्र दाउपेच, विश्वासघात र शक्ति केन्द्रहरूको दबाब सामु आत्मसमर्पणको तल्लो बिन्दुसम्म ओर्लियो। त्यस स्थितिमा हामी सरकारमा बसिरहन सक्ने अवस्था हुँदैनथ्यो। हामी सरकारबाट बाहिरियौं र प्रतिपक्षका रुपमा हामीले ‘झुलाघाट–चिवाभञ्ज्याङ सङ्कल्प यात्रा‘ जस्ता विशाल जनपरिचालन गर्यौँ।’
त्यसअघि नेपाली कांग्रेससँग राजनीतिक स्थायित्वका लागि दुई मुख्य दल सहकार्यका साथ अघि बढौ भनेर प्रस्ताव गरेपनि त्यो प्रस्ताव कार्यान्यन हुन नसकेपछि बाध्यात्मक विकल्पका रुपमा अध्यक्ष प्रचण्डलाई २०७९ मङ्सिरमा सम्पन्न आम निर्वाचनपछि नयाँ सरकारको नेतृत्वमा एमालेले स्वीकारेको प्रधानमन्त्री ओलीको भनाइ छ।
‘२०७९ मङ्सिरमा सम्पन्न निर्वाचनले मुलुकको आवश्यकतालाई सम्बाेधन गर्न र सही राजनीतिक निकास दिन नसकेको विश्लेषण एमालेले त्यतिबेलै गरिसकेका थियौं।
मुलुकले दिगो राजनीतिक स्थायित्वको माग गरिरहेको तर निर्वाचनको परिणाम भने अस्थिरतालाई टेवा पु¥याउने खालको रह्यो। राष्ट्रिय शक्तिहरु निर्णायक अवस्थामा हुनु पर्ने समयको खाँचो रहेको तर परिणाममा भने ती शक्तिहरु सापेक्षित रुपमा कमजोर हुन पुगेको हाम्रो निष्कर्ष सही थियो । तर पनि जनताको अभिमतलाई सम्मान गर्दै उपलब्ध विकल्पमध्ये एमालेले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ लाई प्रधानमन्त्री प्रस्तावित गरेर नयाँ समीकरण निर्माण गरेका थियौं ।’
राष्ट्रपतिको निर्वाचनको बिन्दुसम्म आइपुग्दा त माओवादी केन्द्र दाउपेच, विश्वासघात र शक्ति केन्द्रहरुको दबाब सामु आत्मसमर्पणको तल्लो बिन्दुसम्म ओर्लिएको प्रधानमन्त्री ओलीले आराेप लगाउनु भएको छ।
त्यसपछि बनेको कांग्रेस र माओवादीको सरकारका क्रियाकलापमा प्रशन उठेको र माओवादीसँग पार्टीको छलफल हुँदा गल्ती नदोहोरिने वाचा भएपनि २०८० फागुन ११ मा पुनः सो पार्टीसँग सत्तामा सहकार्य भएको प्रधानमन्त्री ओलीको जिकिर गर्नुभयो। तर पनि प्रचण्डबाट दाउपेच र विश्वासघातपछि देशलाई निकास दिन भनेर २०८१ असार १७ मा कांग्रेस र एमालेबीच ७ बुँदे सहमति निर्माण भनेर अहिलेसम्म सोही सरकार यथावत रहेको प्रधानमन्त्री ओलीले प्रतिवेदनमा उल्लेख गर्नुभएको छ।