एमालेका वरिष्ठ उपाध्यक्ष पोखरेलद्वारा लिखित संस्मरणात्मक कृति विमोचन

काठमाण्डाै ।  नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पाेखरेलद्वारा लिखित संस्मरणात्मक कृति ‘आमा, सपना र  ताराहरू’ काे विमाेचन भएकाे छ । काठमाण्डाैमा आज एक कार्यक्रमका बीच पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पाेखरेलकाे संस्मरणात्मक कृतिकाे विमाेचन गर्नुभयाे ।

कार्यक्रममा पूर्वराष्ट्रपति भण्डारीले साहित्य लेखनमार्फत सर्जकले आफ्ना सिर्जना देश र नागरिकका लागि खर्चनुपर्ने बताउनुभएको छ । उहाँले साहित्य लेखनलाई राजनीति, आर्थिक र सामाजिक परिवर्तनसँग जोडेर लैजानुपर्ने आवश्यकता औँल्याउनुभयो ।

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पूर्वराष्ट्रपतिहरूलाई बाँकी जीवन राजनीतिमा पुनरागमन गर्नुभन्दा सामाजिक परिवर्तनको नेतृत्व गर्न आग्रह गर्नुभयो ।

नेकपा (एमाले) का उपमहासचिव प्रदीपकुमार ज्ञवालीले कृतिमा एक सय वर्षको बदलिँदो नेपाली समाज, पारिवारिक सङ्गठन र विघटन, जलवायु परिवर्तनका कारणले भएका बसाइँसराइलगायत समसामयिक र वास्तविक पक्षलाई समेटिएको बताउनुभयो ।

समालोचक उपप्राध्यापक डा. विन्दु शर्माले शब्द चयनमा समेत निकै सजगता र सचेतना अपनाई नेपाली आमाहरूको त्याग, समर्पण र बलिदानीबारे इमानदारीपूर्ण संस्मरणात्मक रूपमा प्रस्तुत गरिएको कृतिमा भावुक पार्ने क्षण र विषयवस्तु प्रशस्त रहेको धारणा राख्नुभयो ।

कृतिका लेखक एमालेका वरिष्ठ उपाध्यक्ष पोखरेलले आफ्नी आमालाई परिवर्तन र रूपान्तरणको पात्रका रूपमा प्रस्तुत गर्दै समाज परिवर्तनको आन्दोलनका सिलसिलामा नेपाली आमाहरूलाई कसरी र कुन ठाउँमा पाइयो भन्ने विषयवस्तु जस्ताको त्यस्तै उतार्न कोशिश गरेको बताउनुभयो । कृतिमा पति र पुत्रवियोगमा, आर्थिक अभावमा पनि समाज र सन्तानलाई देश र नागरिकका पक्ष अटल रहन प्रेरणा दिएका घटना समेटिएका छन् ।

पुस्तकमा माइती र घरमा आमा, पीडादायी घरायसी अवस्था, बाबुको निधन र त्यसपछिका चुनौती, आमासित छुट्टिन पर्दा, विद्यार्थी जीवन र राजनीतिमा प्रवेश, मैले घर छोडेपछि आमाको अवस्था, भूमिगत अवस्थामा आमासित भेट, मलाई बचाउने औतारी लामा, आँखा दान गर्ने आमा र आमाको स्वभाव शीर्षकमा विभिन्न विषयवस्तु समावेश छन् ।

यसअघि वरिष्ठ उपाध्यक्ष पोखरेलका ‘पूर्वको रातो तारा’, ‘माघ १९’ लगायत कृति प्रकाशित छन् ।