इन्टरनेशनल र पब्लिक लेख्ने विद्यालयलाई कडाइ गर्दै महानगर
काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाले निजी विद्यालयको नामको पछाडि इन्टरनेशनल र पब्लिक राख्नेलाई कडाइ गर्ने तयारी गरेको छ ।
यसअघि अंग्रेजी नाम रहेकालाई नेपालीकरण गर्ने सफल हुन नसके पनि इन्टरनेशनल र पब्लिक हुन मापदण्ड पुरा नभएकालाई कडाइ गर्ने तयारी गरेको हो ।
महानगरले इन्टरनेशनल, पब्लिक हुन मापदण्ड पुरा नगर्ने विद्यालयमा लेखा परीक्षक नै नतोक्ने नीति लिन लागेको स्रोतले जनाएको छ । नियमावलीको नियम ८७ मा व्यवस्थापन समितिको अध्यक्ष र प्रधानाध्यापकले प्रत्येक वर्ष शिक्षा अधिकारीबाट नियुक्त लेखापरिक्षकबाट लेखापरिक्षण गराउनु पर्ने व्यवस्था छ ।
२०७४ चैत ५ मा जारी महानगरको शिक्षा नियमावलीको नियम ७० को उपनियम २ मा विद्यालयको नामको पछाडि पब्लिक र इन्टरनेशल लेख्न निश्चित मापदण्ड तोकेको छ । संस्थागत विद्यालयले आफ्नो नाममा पब्लिक शब्द जोड्न चाहेमा कम्तीमा एक तिहाइ विद्यार्थी पूर्ण छात्रवृत्तिमा अध्ययन गरेको हुनुपर्ने, नेशनल शब्द जोड्न चाहेमा नेपालको कम्तीमा २५ जिल्लाका विद्यार्थी अध्ययनरत रहेको हुनु पर्ने र इन्टरनेशनल शब्द जोड्न चाहेमा कम्तीमा एक तिहाइ संस्थामा विदेशी विद्यार्थी हुनु पर्ने प्रावधान छ ।
शिक्षा नियमावलीमा भएको प्रावधान कार्यान्वयनमा कडाइ गर्न लागेको महानगरका विज्ञ सदस्य शैलेन्द्र झाले बताउनुभयो । विद्यालयको नाममा इन्टरनेशनल लेख्नै नपाइने भन्ने होइन इन्टरनेशनल लेख्नको लागि तोकिएको मापदण्ड पुरा गर्नुपर्ने उहाँले बातउनुभयो ।