पहाडी उपत्यका तथा तराईका धेरै ठाउँमा आज पनि हुस्सु र कुहिरो

काठमाण्डौ । तराईका धेरै ठाउँ र पहाडका उपत्यका तथा बेँसी क्षेत्रमा आज पनि हुस्सु र कुहिरो लागेको छ । पहाडी क्षेत्रमा बिहानपख लागेको कुहिरो दिउँसोपछि विस्तारै हटे पनि तराईमा दिनभरजसो हुस्सु लाग्ने गरेको छ ।

अझै केही दिन तराईको मौसम यस्तै रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हुस्सुसँगै चिसो सिरेठो चल्न थालेपछि तराईको जनजीवन कष्टकर बनेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही बाँकी प्रदेशमा मौसम सफा रहने छ ।

यसैगरी राति गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने छ ।

भोलि बिहान पनि तराई तथा काठमाण्डौ उपत्यकाका धेरै ठाउँमा हुस्सु लाग्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।