मुस्ताङमा पर्यटक आगमन वृद्धि

म्याग्दी । मुस्ताङमा सन २०२४ मा विदेशी पर्यटक आगमन ५० प्रतिशतले वृद्धि भएको छ । सन् २०२३ को तुलनामा सन् २०२४ मा मुस्ताङ भ्रमण गर्ने पर्यटकको सङ्ख्या ५० दशमलब २० प्रतिशत अथवा ४५ हजार ३ सय ६३ ले बढी भएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को इलाका संरक्षण कार्यालय जोमसोमले जनाएको छ । मुस्ताङ घुम्ने पर्यटकको संख्या सन् २०२४ मा १ लाख ३५ हजार ७ सय १९ जना पुगेको एक्याप जोमसोमका प्रमुख प्रमोदराज रेग्मीले बताउनुभयो ।

सडक यातायातको सुविधा, अन्नपूर्ण चक्रीय पदमार्गलाई विश्वका उत्कृष्ट दश गन्तब्यमा समेटिनु, नयाँ गन्तब्यको पहिचान, प्रचारप्रसार, डिजिटल मार्केटिङ, सुविधायुक्त होटल खुलेका र अनलाइन मार्फत रुट परमिट लिने प्रणाली सुरु भएका कारण मुस्ताङमा पर्यटक आगमन बढेको उहाँले बताउनुभयो । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले मुक्तिनाथ र मुस्ताङको भ्रमण गरेपछि भारतीय नागरिकहरु मुस्ताङ भ्रमणमा आउने क्रम क्रम बढेको उद्योग तथा पर्यटन कार्यालय मुस्ताङका प्रमुख प्रेम प्रसाद पौडेलले बताउनुभयो ।

सन् २०२३ मा ९० हजार ३ सय ५६, सन् २०२२ मा ६५ हजार ९४०, सन् २०२१ मा २ हजार ३०० र २०२० मा २ हजार ३४७ जना पर्यटक मुस्ताङ आएका थिए । कोरोना महामारी अघि मुस्ताङमा अधिकतम वर्षिक ६० हजार जनासम्म पर्यटक आएका तथ्याङ्क छ ।

सन २०२४ मा मुस्ताङ भ्रमणमा आएका मध्य १ लाख ९ हजार ५ सय ४९ जना सार्क राष्ट्रका र २६ हजार १  सय ७० जना तेस्रो मुलुकका छन् । जनवरीमा २ हजार १ सय २६, फेब्रअरीमा ३ हजार ६  सय ९९, मार्चमा १४ हजार ८ सय २९, अप्रिलमा १७ हजार ३ सय २०, मेमा २९ हजार ७ सय ७३, जुनमा १६ हजार ३ सय ४२, जुलाईमा ३ हजार ४ सय ४०, अगस्टमा ३ हजार पाँच सय ८०, सेप्टेम्बरमा ११ हजार सात सय ८५, अक्टोबरमा १४ हजार ३५, नोबेम्बरमा १२ हजार ३५ र डिसेम्बरमा ६ हजार ७ सय ५ जना पर्यटक मुस्ताङ भित्रिएका छन् ।

कागबेनी देखि कोरला नाका सम्मको उपल्लो मुस्ताङको अर्धनिषेधित भूगोलमा भ्रमण गर्न विदेशीले सात दिनका लागि पाँच सय डलर शूल्क तिरेर अध्यागमन विभागबाट अनुमति लिनुपर्छ । गण्डकी प्रदेशको लमजुङ, कास्की, मनाङ, मुस्ताङ र म्याग्दी जिल्लामा समेटिएको एक्याप क्षेत्रको भ्रमण गर्न सार्क मुलककालाई प्रतिव्यक्ति रु। एक हजार र तेस्रो मुलुककालाई प्रतिव्यक्ति रु। तीन हजार शूल्क तोकिएको छ ।

उजाड पहाड, हिमाली हावापानी, संस्कृति र जिवनशैली, ताल, गुम्बा, मुक्तिनाथ मन्दिर, गुफाहरु मुस्ताङका आकर्षण हुन् । मुक्तिनाथ, जोमसोम, कागबेनी, लोमान्थाङ, मार्फा, ठिनी, धुम्बा ताल लगायत मुस्ताङका धार्मिक र पर्यटकीय स्थलमा पर्यटक आगमन पुरानै लयमा फर्किएको छ । जिल्ला प्रहरी कार्यालयको अभिलेख अनुसार आर्थिक वर्ष २०८०/०८१ मा चार लाख २७ हजार जना पर्यटक सडक मार्ग भएर मुस्ताङ घुम्न गएका थिए ।

म्याग्दी हुँदै सडक मार्ग र पोखराबाट हवाई मार्ग भएर पर्यटक मुस्ताङ पुग्छन् । मनाङ हुँदै थोरङ्ला भञ्ज्याङ काटेर पनि पर्यटक मुस्ताङ छिर्ने गरेका छन् । विश्वप्रसिद्ध अन्नपूर्ण चक्रीय पदमार्गमा समेटिएको मुस्ताङ आन्तरिक र बाह्य पर्यटकको रोजाइमा परेको छ ।

मुस्ताङस्थित मुक्तिनाथ क्षेत्र विश्वभरका हिन्दूमाझ पवित्र धार्मिकस्थल मानिन्छ । मुक्तिनाथकै बाटो भएर बौद्ध भिक्षु पद्यसम्भव बौद्ध धर्म प्रचारका लागि तिब्बत गएको हुँदा त्यस क्षेत्र बौद्धहरूको पनि तीर्थस्थलका रूपमा चिनिन्छ । रासस