पनौतीमा बाढीप्रभावितलाई सम्पत्ति कर छुट

काठमाण्डौ । काभ्रेको पनौती नगरपालिकाले बाढीपहिरो प्रभावित क्षेत्रमा नागरिकको सम्पत्ति करमा शतप्रतिशत छुट दिने निर्णय गरेको छ ।

नगरको १६औँ नगरसभाले निर्णय गर्दै केही क्षेत्र तोकेर सम्पत्ति करमा सय प्रतिशत नै छुट दिने निर्णय गरेको हो ।

चालु आर्थिक वर्ष २०८१र८२ का लागि केही क्षेत्र तोकेर सम्पत्ति करमा सय प्रतिशत नै छुट दिने निर्णय गरिएको नगर प्रमुख रामशरण भण्डारीले बताउनुभयो ।

चालु आर्थिक वर्षमा तिर्नुपर्ने अन्य कर राजस्व भुक्तान गरेका बाढी पहिरो पीडितलाई यो सुविधा दिइने भएको हो ।

गएको असोज दोस्रो हप्ताको बाढी पहिरोले पनौतीमा एक विदेशी नागरिकसहित २० जनाको ज्यान गएको थियो भने एक जना अझै बेपत्ता छन् ।

नगरको विवरणअनुसार बाढीपहिरोले पाँच सय ८६ घर पूर्णरूपमा क्षति भएको छ भने नौ सय ४४ वटा घर उच्च जोखिममा रहेका छन् ।