सूर्यदर्शन सहकारी ठगी मुद्दामा आज पनि थुनछेक बहस
काठमाण्डौ । पोखराको सूर्यदर्शन सहकारी संस्थाको रकम अपचलन मुद्दामा आज पनि जिल्ला अदालत कास्कीमा थुनछेक बहस हुँदैछ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहितको मुद्दामा हिजो पहिलो दिनको थुनछेक बहस सकिएको थियो । आज त्यसैलाई निरन्तरता दिन लागिएको हो । हिजोको बहस सकिएसँगै पूर्वउपप्रधान एवम् गृहमन्त्री लामिछानेसहित पक्राउ परेकाहरूलाई हिरासतमा फर्काइएको थियो ।
न्यायाधीश नीतिज राईको इजलासमा लामिछानेसहित छविलाल जोशी, लीला पछाईं, रामबहादुर खनाल, कृष्णबहादुर गुरुङ, मिना गुरुङ र आरती गुरुङको बयान हिजो सकिएको थियो । लगत्तै थुनछेक बहस शुरू भएको हो ।
आरोपीहरूविरूद्ध जिल्ला सरकारी वकिलको कार्यालयले पुस ७ गते अदालतमा मुद्दा दायर गरेको थियो । उनीहरूविरूद्ध सरकारी वकिलको कार्यालयले पुस ५ गते सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराधको पनि थप अभियोग दर्ता गरेको थियो ।