२१औं पोखरा ओपनमा आरब सम्राट हाडा र सुनिरा थापा च्याम्पियन

पोखरा। २१औं पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगितामा आरब सम्राट हाडा र सुनिरा थापा च्याम्पियन बनेका छन्।

कास्की जिल्ला टेनिस संघद्वारा आयोजित प्रतियोगिताको आज सम्पन्न फाइनलमा आरब सम्राटले प्रतिद्वन्द्वी प्रणव र सुनिराले सलोनी तामाङलाई पराजित गर्दै च्याम्पियन बनेका हुन्।

मेन्स सिंगल्सतर्फको फाइनलमा आरबले प्रणवलाई ६–१, ६–१ ले पराजित गर्दा सुनिराले सलोनीलाई ६–२, ६–३ को सोझो सेटमा पराजित गरे। च्याम्पियन भएका दुवैले समान ८०–८० हजार प्राप्त गर्दा उपविजेताले जनही ४०–४० हजार प्राप्त गरेका छन्।

यस्तै ३५ वर्ष माथिको सिंगल्समा पूर्व नं १ जितेन्द्र परियारले प्रतिद्वन्द्वी सन्तोष खत्रीलाई ६–१, ६–२ को सोझो सेटमा पराजित गर्दै च्याम्पियन भएका छन्। जितेन्द्रले ६० हजार र उपविजेता सन्तोषले ३० हजार हात पारे।

४५ वर्ष माथिको सिंगल्स फाइनलमा कमल भण्डारी विजेता बनेका छन्। उनले रोहित सुनुवारलाई ६–०, ६–२ ले पराजित गरे। ५५ वर्ष माथि फाइनल स्पर्धामा चन्द्र शाही विजयी भए।