पोखरा अन्तर्राष्ट्रिय ड्रागन बोट दौडको उपाधि चीनको डोङग्वान लाओयु क्लबलाई
काठमाण्डौ । पोखरामा आयोजना गरिएको दोस्रो संस्करणको ‘नेपाल–चीन मैत्रीपूर्ण ड्रागन बोट रेस फेस्टिभल’को उपाधिमा चिनियाँ खेलाडीले वर्चस्व कायम गरेका छन् ।
पोखराको फेवातालमा हिजो सम्पन्न दुई सय र पाँच सय मिटर दौडको फाइनलमा चीनको डोङग्वान लाओयु क्लबले दोहोरो उपाधि हात पारेको हो । दोहोरो उपाधिसँगै उसले १० हजार डलर पुरस्कार पायो ।
नेपाल र छिमेकी चीनबीचको सांस्कृतिक तथा जनस्तरसम्मको सम्बन्ध सुमधुर बनाउँदै नेपालको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको थियो ।
चीनकै युनान मिन्जु युनिभर्सिटी दोस्रो तथा लिआओचिङ युनिभर्सिटी तृतीय भयो । युनान प्रान्तको नर्मल विश्वविद्यालयले चौथो स्थान हासिल गर्न सफल भयो । निर्धारित पाँच सय मिटरको दौडमा लिआओ चेङ युनिभर्सिटी दोस्रो भयो । प्रतियोगितामा युहान युनिभर्सिटी तेस्रो भयो ।
प्रतियोगितामा पाँच सय सय र दुई सय मिटर दौडका विजेताले ट्रफी, मेडल तथा प्रमाणपत्रसहित नगद पुरस्कार प्राप्त गरे ।
विजेता खेलाडीलाई गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, नेपालका लागि चिनियाँ राजदूत छन् सोङ, पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यलगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।
गण्डकी प्रदेश, पोखरा महानगरपालिका, नेपालमा रहेको चिनियाँ दूतावास र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा भएको प्रतियोगितामा २० टोलीको सहभागिता थियो ।
प्रतियोगितामा चीनका आठ, सिङ्गापुरको एउटा तथा नेपालका ११ टोली सहभागी थिए ।