आज तोल ल्होसार पर्व मनाइँदै

काठमाण्डौ । हरेक वर्ष पौष शुक्ल प्रतिपदाका दिन मनाइने तोल ल्होसार पर्व आज हिमाली क्षेत्रका हुम्ला, जुम्ला, डोल्पा, मुगु, मनाङलगायतका जिल्लामा मनाइँदैछ । तोल ल्होसारलाई सबैभन्दा पुरानो पर्व मानिन्छ ।

‘तोल’को अर्थ समयचक्र भन्ने लाग्छ । त्यसैले यो ल्होसारलाई समयचक्र ‘संवत्सर’ पनि भनिन्छ । तामाङ जातिले मनाउने सोनाम ल्होसारको विधिअनुसार यो पर्व मनाइन्छ ।

सोनाम ल्होसार र तोल ल्होसार दुवै मनाउने तरिका एकै भए पनि दिन भने फरक पर्छ । तामाङ जातिले आजको एक महिनापछि अर्थात् माघ शुक्ल प्रतिपदाका दिन यो पर्व मनाउँछन् ।

तोल ल्होसार भुटान र तिब्बतका केही ठाउँमा अहिले पनि मनाउने गरिएको छ । ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’को अर्थ नयाँ भन्ने बुझिन्छ । हिमाली क्षेत्रका मानिस आज स्नान गरी शुद्ध हुन्छन् । घर, आँगन लिपपोत गरी चोखो बनाउँछन् ।

लामा पुरोहित वा घरका मुख्य मान्छेबाट पूजापाठ गरिन्छ । आकाशतर्फ गहुँको पीठो फ्याँकेर देवताको विजय र भूतप्रेतको पराजयको कामना गर्ने परम्परा रही आएको छ । ठूला, बडा एवम् मान्यजनबाट आशीर्वाद लिई बाबरी रोटी, फुरौला, कन्दमूल खाने गरिन्छ । गुरुङ समुदायले हिजो तमु ल्होसार धुमधामका साथ मनाएका छन् ।