नक्कली डाक्टर बनी लुटपाट गर्ने व्यक्ति पक्राउ

काठमाण्डौ । नक्कली डाक्टर बनी लुटपाट गर्ने कार्यमा संलग्न रहेको अभियोगमा प्रहरीले १ जनालाई पक्राउ गरेको छ ।

प्रहरी उपरीक्षक एवम् सूचना अधिकारी काजीकुमार आचार्यले महोत्तरी जलेश्वर नगरपालिका–२ हरिटोल ठेगाना भई ललितपुर, ललितपुर महानगरपालिका-१७ ग्वार्को बस्ने ३० वर्षीय डा. आलोक भन्ने जितेन्द्र मण्डललाई पक्राउ गरिएको जानकारी दिनुभयो ।

मण्डलले सामाजिक सञ्जाल फेसबुकमार्फत साथी बनाई आफू डाक्टर हुँ भनी भेटघाट एवम् चिनजान गरी घरमा गई सुगर रोगीको उपचार गर्छु भन्दै औषधी खुवाई वेहोस बनाई कोठाभित्र रहेका सुन तथा चाँदीका गरगहनाहरू र नगद ३ लाख समेत चोरी गरेका प्रहरी उपरीक्षक आचार्यले बताउनुभयो ।

घटनाको अनुसन्धानको क्रममा घटनामा संलग्न मण्डललाई काठमाण्डौ उपत्यका अपराध अनुसन्धान शाखा ललितपुरबाट खटिएको प्रहरीले नुवाकोट पञ्चकन्या गाउँपालिका–४ आरूखर्कबाट पक्राउ गरेको हो । प्रहरीले मण्डलको साथबाट नगद ५९ हजार तीन सय ६० रुपैयाँ र मोबाइल ३ थान बरामद गरेको छ ।

मण्डललाई चोरीसम्बन्धी कसूरमा आवश्यक अनुसन्धान एवम् कारवाहीका लागि प्रहरी वृत्त सातदोबाटो पठाइएको छ ।