भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने
नयाँदिल्ली । सन् १९९० को दशकको सुरुमा देशको आर्थिक उदारीकरणका वास्तुकारमध्ये एक पूर्वप्रधानमन्त्री मनमोहन सिंहको निधनपछि भारतले आज सात दिनको राजकीय शोक मनाउने घोषणा गरेको छ ।
सन् २००४ देखि २०१४ सम्म प्रधानमन्त्रीको कार्यभार सम्हाल्नुभएका सिंहको बिहीबार साँझ नयाँदिल्लीको अस्पतालमा ९२ वर्षको उमेरमा निधन भएको थियो । उहाँको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिनेछ ।
दिवङ्गत महानुभावप्रति सम्मानस्वरूप सम्पूर्ण भारतमा सात दिनको राजकीय शोक मनाइने निर्णय गरिएको छ, भारत सरकारले आज एक विज्ञप्तिमा भनेको छ र शोक जनवरी १ सम्म मनाइनेछ ।
स्वर्गीय डा। मनमोहन सिंहको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने निर्णय पनि गरिएको छ, विज्ञप्तिमा उल्लेख छ र राष्ट्रिय झण्डा आधा झुकाइनेछ ।
अस्ट्रेलियासँग चौथो टेस्ट खेलिरहेको भारतीय क्रिकेट टोलीले आज सिंहप्रति सम्मान प्रकट गर्न कालो हातको ब्यान्ड लिएर आज मैदानमा पुगेको थियो ।
राजकीय अन्त्येष्टिको मिति तत्काल घोषणा नगरिए पनि कांग्रेस पार्टीका एक वरिष्ठ सदस्यले शनिबार हुनसक्ने सङ्केत गरेका छन् ।
सरल टेक्नोक्र्याट
पूर्वप्रधानमन्त्री एक सरल टेक्नोक्र्याट हुनुहुन्थ्यो । उहाँलाई पहिलो कार्यकालमा एसियाको चौथो ठूलो अर्थतन्त्रको आर्थिक वृद्धिको नेतृत्व गरेकामा प्रशंसा गरिएको थियो तर उहाँको दोस्रो कार्यकाल ठूला भ्रष्टाचार काण्ड, मन्द विकास र उच्च मुद्रास्फीतिका साथ समाप्त भयो ।
दोस्रो कार्यकालमा सिंहको अलोकप्रियता र तल्लो सदनमा हालका विपक्षी नेता नेहरू–गान्धी वंशज राहुल गान्धीको कमजोर नेतृत्वले सन् २०१४ मा प्रधानमन्त्री नरेन्द्र मोदीको पहिलो भारी जीतमा योगदान गर्यो ।
सन् १९३२ मा अहिलेको पाकिस्तानमा रहेको गाह गाउँको माटोको घरमा जन्मनुभएका सिंहले विशाल राष्ट्रमा गरिबी उन्मूलन गर्ने तरिका खोज्न अर्थशास्त्रको अध्ययन गर्नुभयो । राष्ट्रको सर्वोच्च पद लिनुअघि उहाँ कहिल्यै निर्वाचित पदमा बस्नुभएको थिएन ।
उहाँले केम्ब्रिजबाट अर्थशास्त्रमा प्रथम श्रेणी र अक्सफोर्डबाट विद्यावारिधि हासिल गर्न छात्रवृत्ति पाउनुभएको थियो ।
सिंहले वरिष्ठ निजामती सेवाका विभिन्न पदमा काम गर्नुभयो, केन्द्रीय बैंङ्कको गभर्नरको रूपमा सेवा गर्नुभयो र संयुक्त राष्ट्रसङ्घ जस्ता विश्वव्यापी एजेन्सीहरूमा विभिन्न पद सम्हाल्नुभयो ।
सन् १९९१ मा तत्कालीन कांग्रेसी प्रधानमन्त्री पी।भी। नरसिंह रावले उहाँलाई भारतको आधुनिक इतिहासको सबैभन्दा खराब वित्तीय सङ्कटबाट देशलाई उकास्न जिम्मेवारी दिनुभएको थियो ।
आफ्नो पहिलो कार्यकालमा सिंहले नौ प्रतिशतको आर्थिक वृद्धिको अवधिमा अर्थतन्त्रको नेतृत्व गर्नुभयो । यसले देशलाई लामो समयदेखि खोजिरहेको अन्तर्राष्ट्रिय प्रभाव दियो ।
उहाँले अमेरिकासँग एउटा ऐतिहासिक आणविक सम्झौतामा पनि हस्ताक्षर गर्नुभयो । उहाँले उक्त सम्झौताले भारतलाई आफ्नो बढ्दो ऊर्जा आवश्यकताहरू पूरा गर्न मद्दत गर्ने बताउनुभएको थियो ।
रासस/एएफपी