पाँचौँ संस्करणको ‘एनुअल नेपाल एआई स्कुल’ आजदेखि शुरू हुँदै
काठमाण्डौ । नेपाल एप्लाइड म्याथेमेटिक्स एन्ड इन्फरमेटिक्स इन्स्टिच्युट (नामी) को आयोजनामा पाँचौँ संस्करणको ‘एनुअल नेपाल एआई स्कुल’ आजदेखि शुरू हुँदैछ ।
खुमलटारमा रहेको प्रिमियर इन्टरनेशनल स्कुलमा आयोजना हुने कार्यक्रममा आधारभूतदेखि आधुनिक विचार र विधिहरूसम्मका विषयवस्तु समेटिने छ । आउँदो २२ गतेसम्म सञ्चालन हुने कार्यक्रम आर्टिफिसियल इन्टेलिजेन्स (एआई)को आधार र कार्यान्वयनमा केन्द्रित हुनेछ ।
आयोजकका अनुसार विश्वभरका वैज्ञानिक, प्राध्यापक र विशेषज्ञहरूले सहभागीहरूलाई एआईसम्बन्धी बृहत जानकारी प्रदान गर्नेछन् । यसअन्तर्गत लेक्चर क्लासदेखि ल्याब र प्रोजेक्ट वर्कसम्मका कक्षा हुने छ ।
कार्यक्रममा कम्प्युटर विज्ञानका स्नातक, स्नातकोत्तर र पीएचडी तहका दुई सय विद्यार्थी तथा एआई क्षेत्रमा काम गर्ने प्रोफेसनलहरू सहभागी हुन सक्नेछन् । विगत चार संस्करणमा ४० भन्दा बढी देशका पाँच सय ५० भन्दा बढी विद्यार्थीहरूले यस कार्यक्रममा भाग लिएको आयोकले जनाएको छ ।
विद्यार्थी तथा एआई अभ्यासकर्ताहरूलाई विश्वस्तरमा भइरहेको अत्याधुनिक विकाससँग परिचित गराउने लक्ष्यका साथ वर्षेनि यस्तो कार्यक्रम गरेको नामीका निर्देशक तथा अनुसन्धान वैज्ञानिक विशेष खनालले बताउनुभयो ।