अजरबैजान एअरलाइन्सको यात्रुवाहक विमान काजाकस्तानमा दुर्घटना
अजरबैजान एअरलाइन्सको यात्रुवाहक विमान काजाकस्तानमा दुर्घटनामा परेको छ । ६७ जना मानिस बोकेको जहाज काजाकस्तानको अक्ताउ क्षेत्र नजिकै दुर्घटनामा परेको स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
प्रारम्भिक जानकारीअनुसार दुर्घटनामा २५ जना यात्रु बाँच्न सफल भएका र तीमध्ये २२ जनालाई अस्पताल लगिएको काजाकस्तानको आपत्कालीन मन्त्रालयले जनाएको छ ।
दुर्घटनामा परेको विमानमा ६२ जना यात्रु र पाँच जना चालक दलका सदस्य रहेका थिए । विमान अक्ताउ शहर नजिकै खसेपछि आगलागी भएको खबरमा उल्लेख छ । अहिले विमानमा लागेको आगो निभाइएको अधिकारीहरूले बताएका छन् ।
अजरबैजानको राजधानी बाकुबाट रुसको ग्रोज्नीतर्फ उडेको विमान बाक्लो कुहिरोका कारण काजाकस्तानतर्फ मोडिएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् । दुर्घटनाबारे अजरबैजान एअरलाइन्सले अहिलेसम्म केही बताएको छैन । दुर्घटनाको पूर्ण विवरण आउन बाँकी छ ।