नेपाल ओलम्पिक कमिटीको चुनावमा विवादकै बीच अनलाइनबाट मनोनयन दर्ता
काठमाण्डौ । नेपाल ओलम्पिक कमिटी (एनओसी) को आउँदो सोमबार हुने चुनावका लागि विवादकै बीच अनलाइनबाट मनोनयन दर्ता भएको छ । सहज मनोनयन दर्ताको कार्यसूची रहेकोमा प्रहरी हस्तक्षेपपछि निर्वाचन समितिले अनलाइनबाट उम्मेदवारी दर्ता गरेको हो ।
एनओसीले गएराति १२ बजेसम्म समयसीमा तोकेर मनोनयन दर्ताको अनलाइनबाट हुने सूचना जारी गरेको थियो । एनओसीको वर्तमान अध्यक्ष जीवनराम श्रेष्ठले प्रहरी हस्तक्षेपको आलोचना गर्दै जसरी पनि चुनाव गर्नुपर्ने बताएका छन् ।
नेपाल ओलम्पिक कमिटी एनओसीका उपाध्यक्ष सुनिलकुमार श्रेष्ठले एनओसीका निर्वाचन अधिकृतलाई पत्र लेख्दै निर्वाचनमा सहभागी हुन नसक्ने जानकारी गराएका छन् । एनओसीले अध्यक्ष र उपाध्यक्षबाहेकका पदमा निर्विरोध भएको बताएको छ ।