बाबु र भाइको हत्या स्वीकार गर्दै मिलन आचार्यले गरे प्रहरीमा आत्मसमर्पण

काठमाण्डौ । भक्तपुरमा हिजो राति मृत भेटिएका बाबु र भाइको हत्या आफूले गरेको भन्दै जेठा छोरा मिलन आचार्यले आत्मसमर्पण गरेका छन् ।

जिल्ला हुलाक कार्यालय खोटाङका निमित्त कार्यालय प्रमुख कुलप्रसाद आचार्य र कान्छा छोरा प्रवीण हिजो बालकोटमा भाडाको कोठामै मृत भेटिएका थिए । उनीहरूको हत्या आफूले नै गरेको भन्दै कुलप्रसादका जेठा छोरा मिलन आचार्यले आज महाराजगञ्ज प्रहरी वृत्तमा आत्मसमर्पण गरेका प्रहरीले जनाएको छ ।

हुलाकका निमित्त कार्यालय प्रमुख आचार्य खोटाङबाट ६ दिनअघि मात्रै जेठा छोरा मिलन आचार्य र कान्छा छोरा प्रवीण बसिरहेको भक्तपुरको बालकोटमा रहेको भाडाको घरमा पुग्नुभएको थियो ।

हिजो बिहानै बाहिरबाट चाबी लगाएको कोठाभित्र आचार्य बाबु–छोरा हत्या गरिएको अवस्थामा मृत फेला परेका थिए । सँगै सुतेका जेठा छोरा मिलन भने हिजो राति नै फरार भएकाले उनैले हत्या गरेको प्रहरीले शङ्का गरेको थियो ।