सुनकोशी नदीको फोक्सिङटारमा अस्थायी बेलीब्रिज जडान शुरू

काठमाण्डौ । खोटाङ र उदयपुरलाई जोडने सुनकोशी नदीमा रहेको फोक्सिङटारमा अस्थायी बेलीब्रिज जडान शुरू भएको छ ।

खोटाङको लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउँपालिका जोड्ने मोटरेबल पक्की पुल गएको असोज १२ गते आएको बाढीले बगाएपछि त्यहाँ अस्थायी बेलीब्रिज जडान शुरू भएको हो ।

फोक्सिङटारमा अस्थायी बेलीब्रिज जडान गर्न सङ्घीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय उदयपुरले गएको मङ्सिर २८ गते निर्माण कम्पनीसँग सम्झौता गरेको थियो ।

सम्झौताअनुसार निर्माण कम्पनीले यही पुसभित्र अस्थायी बेलीब्रिज जडान सकेर यातायात सञ्चालन गराउनुपर्ने सडक विभाग उदयपुरका प्रमुख इञ्जिनियर पशुपति ज्ञवालीले जानकारी दिनुभएको छ ।

गएको असोज १२ गते आएको बाढीले पक्की पुल बगाएपछि खोटाङबाट पूर्वी तराईसँगको सीधा यातायात सेवा बिच्छेद भएको छ ।

अहिले खोटाङबाट रसुवाघाटसम्म गाडी पुगेर त्यहाँबाट पैदल झोलुङ्गे पुल तरेर पारि उदयपुरबाट अर्को गाडी चढेर तराई जानुपर्ने बाध्यता छ ।