ब्राजिलमा विमान दुर्घटना भएर बस्तीमा खस्दा पाइलटसहित १० जनाको ज्यान गयो

एजेन्सी । ब्राजिलको दक्षिणी क्षेत्र ग्रामाडो शहरमा भएको निजी विमान दुर्घटनामा पाइलटसहित १० जनाको ज्यान गएको छ । दुर्घटनामा एक जना पाइलट र एकैपरिवारका नौ सदस्यको ज्यान गएको समाचार संस्था एएफपीले जनाएको छ ।

विमान दुर्घटना भएर बस्तीमा खस्दा एउटा घरको चिम्नी, अर्को एउटा घर र पसलमा समेत क्षति पुगेको छ । दुर्घटनामा विमान बाहिर रहेका १७ जना घाइते भएका रियो ग्रान्डे डो सुल राज्यको सुरक्षा सचिवालयले विज्ञप्तिमार्फत जानकारी दिएको हो ।  यसमध्ये दुई जनाको अवस्था गम्भीर रहेको खबरमा उल्लेख छ ।

खराब मौसमकाबीच विमानले उडान भरेको थियो । विमान तीन किलोमिटर उडेपछि हिजो मानव बस्तीमा खसेको थियो । विमान रियो ग्रान्डे डो सुलको अर्को पर्यटकीय शहर क्यानेलाबाट उडेको थियो ।

ग्रामाडो ब्राजिलको एक लोकप्रिय पर्यटक शहर हो, जहाँ क्रिसमसको मौसममा पर्यटकहरूको उल्लेखनीय उपस्थिति हुन्छ ।