एनपीएलको फाइनल खेलमा सुदूरपश्चिमले जनकपुरलाई दियो १ सय ८५ रनको लक्ष्य

काठमाण्डौ । पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको फाइनल खेलमा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सलाई एक सय ८५ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्च्मिले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ८४ रन बनायो ।

सुदूरपश्चिमका लागि सैफ जैबले सबैभन्दा धेरै ६९ रन बनाए । यस्तै विनादे भण्डारीले ४१ रन बनाए । जनकपुरका महोम्मद मोसिनर किशोर महतोले समान ३ विकेट लिए । यस्तै ललित राजवंशी, जेम्स निशम र किशोर महतोले समान एक विकेट लिए ।

सुदूरपश्चिम अङ्कतालिकामा शीर्ष र जनकपुर दोस्रो स्थानमा रहेर फाइनलमा पुगेको हो । यसअघि लिग चरणमा सुदूरपश्चिमले जनकपुरलाई ७२ रनले र पहिलो क्वालिफायरमा ८ विकेटले हराएको थियो ।

एनपीएल विजेताले ट्रफीसहित १ करोड १० लाख तथा दोस्रो हुनेले ५१ लाख रुपैयाँ प्राप्त गर्नेछ । त्यस्तै तेस्रो टोली कर्णाली याक्सले २५ लाख र चौथो चितवन राइनोजले १५ लाख रुपैयाँ प्राप्त गर्नेछ । उत्कृष्ट १ जना नेपाली खेलाडीले कार पाउनेछन् । नेपाल क्रिकेट सङ्घ ९क्यान० ले एनपीएलको आयोजना गरेको हो ।

गएको मंसिर १५ गतेदेखि सुरु भएको प्रतियोगितामा ८ टोली सहभागी थिए । घरेलु क्रिकेटको सबैभन्दा ठूलो प्रतियोगितामा फाइनलमा पुगेका सुदूरपश्चिम र जनकपुरसहित विराटनगर किङ्स, चितवन राइनोज, काठमाण्डौं गुर्खाज, पोखरा एभेन्जर्स, लुम्बिनी लायन्स र कर्णाली याक्स रहेका थिए ।

पहिलो पटक आयोजना भएको एनपीएलले नेपालको क्रिकेटलाई देशभित्र मात्रै नभई विदेशमासमेत चर्चा कमाएको छ । यो प्रतियोगितामा कर्णाली याक्सबाट भारतीय स्टार क्रिकेटर शिखर धवनलेसमेत खेलेका छन् । साथै यो प्रतियोगिताको क्रिकेटका हस्ती ब्रायन लारालेसमेत अवलोकन गर्नुभएको थियो ।