नेपालमा मङ्कीपक्सको सङ्क्रमण पुष्टि भएपछि सतर्क रहन स्वास्थ्य मन्त्रालयको आग्रह
काठमाण्डौ । साउदी अरबबाट फर्किएका एकजना नेपालीमा ‘मङ्कीपक्स’ अर्थात ‘एमपक्स’को सङ्क्रमण पुष्टि भएपछि थप निगरानी र सतर्कता बढाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मन्त्रालय, स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, अस्पतालहरु र प्रयोगशालाहरुबाट निगरानी र सतर्कता बढाइएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिनुभयो ।
मन्त्रालयले विज्ञप्ति निकालेर सबैलाई सचेत रहन र एमपक्ससँग मिल्दोजुल्दो लक्षण भएमा अस्पताल गएर उचित सल्लाह लिन या मन्त्रालयको हटलाइन नम्बर १११५ मा सम्पर्क गर्न अनुरोध गरेको छ ।
हालै साउदी अरबबाट फर्किएका तनहुँका ३६ वर्षिय पुरुष खटिराको समस्या लिएर काठमाण्डौको एक निजी अस्पतालमा पुग्दा एमपक्ससँग मिल्दोजुल्दो लक्षण देखिएको थियो । जनस्वास्थ्य प्रयोगशाला टेकुमा नमूना परीक्षण गर्दा हिजो एमपक्स पुष्टि भएको हो ।
एमपक्स भाइरसबाट सर्ने एक किसिमको सरुवा रोग हो । सङ्क्रमित व्यक्ति वा सङ्क्रमित पशुसँगको सम्पर्कमा आउँदा घाउ खटिरा र बिमिराको सम्पर्क, शरीरबाट निस्किएको तरल पदार्थ,सङ्क्रमित बाँदर, मुसा, लोखर्केलगायत जनावर र भाइरस रहेको ओछ्यान र लुगाबाट सर्छ ।
मङ्कीपक्सबाट बच्नका लागि मङ्कीपक्सको शङ्का वा पुष्टि भएका व्यक्तिसँग असुरक्षित सम्पर्कमा नजाने, सङ्क्रमित व्यक्तिलाई घरमा वा अस्पतालमा आइसोलेशनमा राख्ने, सङ्क्रमित व्यक्तिको हेरचाह गर्नेले जनस्वास्थ्यका मापदण्ड पालना गर्ने, नियमितरूपमा साबुनपानीले हात धुने, मरेका वा बिरामी जनवारको सम्पर्कमा नजाने, सङ्क्रमित व्यक्तिका लुगा, तौलिया, ओछ्यान र भाँडा तातोपानीले धुने, सङ्क्रमतिको सम्पर्कमा आएका सहत र स्थान निसङ्क्रमण गर्ने, मासुजन्य खानेकुरा राम्ररी पकाएर मात्र खाने गर्नु पर्दछ ।