महिला यू-१९ एसिया कपः नेपाललाई हराउँदै बंगलादेश फाइनलमा

काठमाण्डौ । नेपाल महिला यू-१९ एसिया कपको फाइनलमा पुग्न असफल भएको छ ।

आज भएको सुपर फोर अन्तरगतको खेलमा बंगलादेशसँग ९ विकेटको हार व्यहोर्दै नेपाल बाहिरिएको हो । वर्षाका कारण ११ ओभरमा छोट्याइएको खेलमा नेपालले टस हारेर पहिले ब्याटिङको निम्तो पाएको थियो । तीन ब्याटरहरु रन आउट भएपछि नेपाल बलियो स्कोरमा पुग्न सकेन । नेपालका दुवै ओपनर साना प्रविन र सावित्री धामी रनआउट भए । सबैभन्दा आशा गरिएकी कप्तान पूजा महतोले ११ बलमा ९ रन मात्रै जोड्न सकिन् ।

नेपाल निर्धारित ११ ओभरमा ८ विकेट गुमाएर ५४ रन बनाएको थियो । बंगलादेशले एक विकेट क्षतिमा ९.५ ओभरमा लक्ष्य भेटेको हो । बंगलादेशको एक मात्र विकेट कुसुम गोदारले लिइन् ।

यो जितसँगै बंगलादेशले फाइनलमा स्थान सुरक्षित गरेको छ ।