नेपाल-भारत आर्थिक सम्मेलन नयाँ दिल्लीमा सुरू

नयाँ दिल्ली । परराष्ट्रमन्त्री डाक्टर आरजु राणा देउवाले भारतका उद्यमी समक्ष नेपालमा ऊर्जा, पूर्वाधार विकास, कृषि, पर्यटन र सूचना प्रविधि क्षेत्रमा लगानीका लागि आह्वान गर्नुभएको छ ।

काठमाण्डौ विश्वविद्यालय र भारतको इग्रो फाउन्डेशनु को आयोजनामा भारतको राजधानी नयाँ दिल्लीमा आजदेखि सुरू भएको ‘भारत–नेपाल आर्थिक सम्मेलन’ मा परराष्ट्रमन्त्री राणाले नेपालले विदेशी लगानी र निजी क्षेत्र प्रवर्द्धनसम्बन्धी नीति उदार बनाएको उल्लेख गर्दै भारतीय उद्यमीलाई लगानीका लागि आह्वान गर्नुभएको हो ।

मन्त्री राणाले नेपालमा लगानीको वातावरण बनेको र उच्च प्रतिफलको अवस्था पनि बनेको उल्लेख गर्नुभयो । उहाँले नेपाल-भारत सम्बन्धलाई केवल आर्थिक रूपमा मात्र नभई सामाजिक र सांस्कृतिक रूपमा पनि थप मजबुत बनाउनुपर्नेमा जोड दिनुभयो ।

सम्मेलनमा परराष्ट्रमन्त्री राणाले दुई देशबीच भएको विद्युत् व्यापार सम्झौताले आउँदो १० वर्षभित्र १० हजार मेगावाट बिजुली भारतलाई निर्यात गर्ने योजना अघि सारेको र नेपालले भर्खरै भारतको प्रसारण लाइनमार्फत बङ्गलादेशलाई ४० मेगावाट बिजुली बिक्री गर्न सक्षम भएको बताउनुभयो ।