गुणस्तरीय शिक्षाका लागि तेस्रो अन्तर्राष्ट्रिय सम्मेलन काठमाण्डौमा शुरू हुँदै

काठमाण्डौ ।  नेपालमा गुणस्तरीय शिक्षाका लागि आजदेखि तेस्रो अन्तर्राष्ट्रिय सम्मेलन शुरू हुँदैछ ।

शिक्षा मन्त्रालय रातो बङ्गला फाउन्डेसनको आयोजनामा आज, भोलि र पर्सि ललितपुरको पाटनमा रहेको रातो बङ्गला स्कुलमा यो सम्मेलन हुने भएको हो ।

सम्मेलनमा शैक्षिक नेतृत्व र सुशासन, समावेशीकरण र सामाजिक तथा भावनात्मक विकास, जलवायु परिवर्तन र शिक्षा, प्रविधि र नवप्रवद्र्धन, पूर्व प्राथमिक शिक्षा, पढाइ र सिकाइलगायतका बारेमा छलफल हुने  फाउन्डेसनकी अध्यक्ष शान्ता दीक्षितले जानकारी दिनुभयो ।

नेपालमा सन् २०१३ मा ‘सबैका लागि शिक्षा’ भन्ने नारासहित पहिलोपटक अन्तर्राष्ट्रिय सम्मेल भएको थियो । समयको माग र आवश्यकताको आधारमा विद्यालयले शिक्षालाई प्रविधि र जिवनोपयोगी बनाउने उद्देश्यले तेस्रो सम्मेलन गर्न लागिएको राष्ट्रिय परिक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले बताउनुभयो ।

सम्मेलनमा सात जना विदेशी विज्ञसहित पाँच सयभन्दा धेरै शिक्षाकर्मीहरूको उपस्थिती रहने छ । तीन दिनसम्म हुने सम्मेलनमा ४० वटा कार्यशाला, १० वटा शत्र, १२ वटा कार्य प्रस्तुति, ४ वटा विषेश प्रस्तुति र ४ वटा अनुभव प्रस्तुत गरिने छ ।

शिक्षासँगै रोजगारीको अवसर नहुने र गुणस्तरीय शिक्षाको अभावमा विदेशिने युवाको सङ्ख्या पछिल्लो समय बढिरहेको छ । यसलाई कम गर्नका लागि पनि सम्मेलनले सकारात्मक भूमिका खेल्ने विश्वास गरिएको आयोजकले जनाएको छ ।