कान्ति बाल अस्पतालको पूर्वाधार विकासमा सघाउन कतारसँग स्वास्थ्यमन्त्री पौडेलको आग्रह

काठमाण्डौ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले कान्ति बाल अस्पतालको पूर्वाधार विकासमा सघाउन कतारसँग आग्रह गर्नुभएको छ।

बालबालिकाको उपचार हुने देशकै ठूलो सरकारी अस्पतालमा उपचार विस्तार गर्नका लागि भवनसहितका संरचना र पूर्वाधार विकास गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डिपिआर निर्माण गरेर योजना अघि बढाएको छ। यसमा मित्र राष्ट्र कतारबाट नेपालले सहयोग अपेक्षा गरेको मन्त्री पौडेलले बताउनुभयो।

कतारी राजदूत मिसाल बिन मोहम्मद अल अन्सारीसँगको भेटमा मन्त्री पौडेलले बालबालिकाको स्वास्थ्य सुधारलाई सरकारले प्राथमिकता राखेको भन्दै अस्पतालको पूर्वाधार विकासमा कतारबाट साथ अपेक्षा गरेको बताउनुभयो।

कतारको विकासमा नेपाली नागरिकको योगदान रहेको चर्चा गर्दै मन्त्री पौडेलले कतारलेसमेत नेपालको विकासमा साथ दिएकामा प्रशंसा गर्नुभयो।

कतारी राजदूत अन्सारीले दुई देशको सम्बन्ध असल रहेको भन्दै सहयोगका क्षेत्र विस्तार गर्न चाहेको बताउनुभयो। कतार सरकारको सहयोग संस्था कतार च्यारिटीले नेपालमा स्वास्थ्य क्षेत्रमा सहयोगका लागि समेत काम गरिरहेको राजदूत अन्सारीले बताउनुभयो। उहाँले नेपाली बालबालिकाको स्तरीय उपचार सेवाका लागि कान्ति अस्पतालका लागि सहयोग गर्नु सकारात्मक रहेको बताएको मन्त्री पौडेलको निजी सचिवालयले जनाएको छ।