पर्यटन क्षेत्रको विकासका लागि निजी क्षेत्र अघि सर्नुको विकल्प छैन : मन्त्री पाण्डे
काठमाण्डौ । संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री बद्री पाण्डेले पर्यटन क्षेत्रको विकासका लागि निजी क्षेत्र अघि सर्नुपर्नेमा जोड दिनुभएको छ ।
आज नेपाल हस्तकला महासंघ नेपालले पहिलो पटक राजधानीमा आयोजना गरेको नेपाल-चाइना सांस्कृति शिखर सम्मेलनलाई सम्बोधन गर्नुहुँदै मन्त्री पाण्डेले उक्त कुरा बताउनुभएको हो ।
पर्यटन क्षेत्रको विकासका लागि निजी क्षेत्र अघि सर्नुको विकल्प नभएको र निजी क्षेत्र अगडि सरकार पछि भएपछि मात्रै पर्यटन क्षेत्रको विकास सम्पन्न हुने मन्त्री पाण्डेले कातउनुभयो ।
उहाँले चिनियाँहरुले संस्कृति भित्र पनि अमूर्त पक्षलाई ‘स्टोरी टेलिङ’को माध्यमबाट पर्यटन क्षेत्रको प्रचारप्रसार गरिरहेको प्रति खुसी व्यक्त गर्नुभयो । मन्त्री पाण्डेले भौतिक संस्कृतिले मात्रै धेरै कुरा नबोल्ने भएकाले मूर्त र अमूर्त संस्कृतिलाई जोड्न ‘स्टोरी टेलिङ’को महत्त्व हुने बताउनुभयो ।
उहाँले प्रकृतिमाथिको खतराबाट जोगिन पर्यावरणमैत्री पर्यटनमा जोड दिनुभयो । मन्त्री पाण्डेले पछिल्लो समय आइटी क्षेत्रको विकासले शिखर चुमेको उल्लेख गर्दै डिजिटल टुरिजम विकास तर्फ समेत ध्यान दिएर अघि बढ्नु पर्नेमा जोड दिनुभयो ।
उहाँले नेपाल र चीनबिच प्राचिन समयदेखि नै चित्रकला, काष्ठ कलालगायतका विषय समेत जोडिएको स्मरण गर्दै नेपाल चाइना शिखर सम्मेलनले दुई देशबिचको सम्बन्ध थप मजबुद हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले स्थलमार्ग र हवाईमार्गमार्फत नेपाल प्रवेश गर्ने पर्यटकहरुको सहजताका लागि सरकारको तर्फबाट कुनै पनि कसुर बाँकी नराख्ने बताउनुभयो ।