त्रिभुवन विश्वविद्यालयको जग्गा त्रिविकै नाममा ल्याइन्छ, हिनामिना गर्नेलाई कारबाही हुन्छः प्रधानमन्त्री
काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयको जग्गा विश्वविद्यालयकै नाममा ल्याइने प्रतिबद्धता जनाएका छन् ।
पूर्वसचिव शारदाप्रसाद त्रितालको नेतृत्वमा गठित विश्वविद्यालयको जग्गा तथा सम्पत्ति खोजबिन आयोगको प्रतिवेदन बुझेको प्रसंग उल्लेख गर्दै ओलीले त्यसको कार्यान्वयन गरिने उल्लेख गरेका छन् ।
‘त्रिविको जग्गा खोजबिन आयोगले प्रतिवेदनमा सिफारिस गरेका तथ्यहरूको थप अध्ययन गर्दै सरकारले यसलाई कार्यान्वयन गर्नेछ,’ ओलीले बुधबार फेसबुकमा लेखेका छन्, ‘त्रिभुवन विश्वविद्यालयको जग्गा विश्वविद्यालयकै नाममा ल्याइनेछ र हिनामिना गर्ने जोकोही भए पनि कानुनी कारबाहीको दायरामा आउनेछन् ।’
आयोगले अध्ययन गर्न नभएका र नसकेका क्षेत्रमा पनि थप खोजबिन गरिने उनको भनाइ छ । ‘आयोगले अध्ययन गर्न नभ्याएका र नसकेका क्षेत्रलाई पनि थप अध्ययन गरेर खोजिनेछ । आयोगबाट सिफारिस भएका विषयलाई तत्काल कार्यान्वयन गर्दै खोज्न बाँकी विषयमा थप अध्ययन गरिनेछ,’ उनले भनेका छन् ।