शासनसत्ता भीडले न्याय दिन सक्दैन : गृहमन्त्री लेखक

बुटवल । गृहमन्त्री रमेश लेखकले भीडले न्याय दिन नसक्ने बताउनुभएको छ । उहाँले अदालतमा भैरहेको अनुसन्धान प्रकृयालाइ बिथोल्ने चेष्टा नगर्न समेत चेतावनी दिनुभयो । सहकारी ठगीमा संलग्नमाथिको अनुसन्धान प्रभावित हुने काम कसैले पनि गर्न नहुने उहाँको भनाइ छ ।

नेपाल प्रेस युनियन रुपन्देहीद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै गृहमन्त्री लेखकले शासनसत्ता भीडले नभई कानुनले चल्ने भन्दै उहाँले हरेक कुराको न्याय र अन्याय छुट्याउनका लागि अदालत रहेको समेत स्पष्ट पार्नुभयो । लोकतन्त्रमा भिडले न्याय नदिने भन्दै न्यायिक प्रक्रियाबाट नै हरेक गतिविधिको छिनोफानो हुने धारणा राख्नुभयो ।

उहाँले पछिल्लो समय साइबर अपराध बढेको, भीडले सत्ता चलाउने प्रयास हुन थालेको बताउँदै गृहमन्त्री लेखकले त्यस्ता गतिविधि नियन्त्रण गर्न सुरक्षा निकायलाई निर्देशन समेत दिनुभएको छ ।

समाजमा अराजकता फैलाउने गतिविधि कुनै हालतमा स्वीकार्य नहुने उहाँको कथन छ । संविधानको सुरक्षा र लोकतन्त्रको सुदृढीकरणका लागि शान्ति सुरक्षा मजबुत हुनुपर्ने गृहमन्त्री लेखकको दाबी छ । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि मानवअधिकार उल्लंघनको कुनै पनि व्यवहार नभएको भन्दै अदालतको आदेशअनुसार नै अनुसन्धान भइरहेको गृहमन्त्री लेखकले बताउनुभयो ।

‘चितवनबाट पोखरा लैजाने क्रममा रविजीमाथि कुनैपनि मानवअधिकार उल्लंघनको कुनै काम नएको सरकार हरेक व्यक्तिको मानवअधिकार रक्षाका लागि प्रतिबद्ध भएको उहाँले बातउनुभयो ।

जनताले दुःख गरेर जम्मा गरेको करोडौं रकम हिनामिना गर्नेमाथि अनुसन्धान हुँदा भिड जम्मा गर्ने, अदालत तथा न्यायिक निकाय घेराउ गर्ने जस्ता गतिविधि हुनु दुर्भाग्यपूर्ण भएको उहाको भनाइ छ ।

गृहमन्त्री लेखकले वर्तमान गठबन्धनको विषयमा विभिन्न प्रकारको हल्ला फैलाउने कोसिस भएको भन्दै यो गठबन्धन २०८४ सालको निर्वाचन सम्मै कायम रहने जिकिर समेत गर्नुभयो । संविधान संसोधन तथा राजनितिक स्थायित्वका लागि वर्तमान गठबन्धनको आवश्यकता महसुस भएकाले जनचाहना अनुसार काम हुन उहाले बताउनुभयो ।