दोहामा गाजा युद्धविराम वार्ता ‘गम्भीर र सकारात्मक’
इजरायली प्रतिनिधिमण्डल मध्यस्थकर्ताहरूसँग भेट्न दोहा आइपुगेको एक दिनपछि हमासले हिजो कतारमा भएको वार्ता गाजामा युद्धविराम र बन्धक-कैदी आदानप्रदानलाई लक्षित गरी ‘गम्भीर र सकारात्मक’ भएको बताएको छ ।
‘हाम्रा कतारी र इजिप्टका दाजुभाइहरूको नेतृत्वमा दोहामा आज भइरहेको गम्भीर र सकारात्मक छलफलको आलोकमा अधिकृत पक्षले नयाँ शर्तहरू लागू गर्न छोडेमा युद्धविराम र कैदी आदानप्रदानका लागि सहमतिमा पुग्न सकिन्छ भनेर सोच्दैछौँ’, हमासले विज्ञप्तिमा भनेको छ।
इजरायली अधिकारीहरू दुई पक्षबीचको अन्तर कम गर्ने उद्देश्यले वार्ताका लागि सोमबार दोहा आइपुगेको एक स्रोतले बताएको छ ।
इजरायलको मोसाद गुप्तचर एजेन्सीका प्रमुख डेभिड बार्नियाले बुधबार कतारको राजधानीको भ्रमण गरेपछि यो बैठक भएको स्रोतले जनाएको छ । कतार, संयुक्त राज्य अमेरिका र इजिप्टले गाजाको युद्धविराम र बन्धक मुक्तिका लागि पर्दा पछाडिको कूटनीतिक वार्तामा महिनौँदेखि सक्रिय भूमिका निर्वाह गरिरहेका छन् ।
तर गत वर्षको अन्त्यमा लडाइँमा एक हप्ताको विरामबाहेक लगातार वार्ताहरू युद्ध रोक्न असफल भएका छन् । एक साताको युद्धविराममा इजरायली जेलमा रहेका प्यालेस्टिनीहरूको बदलामा हमासद्वारा बन्धक बनाइएका धेरैलाई रिहा गरिएको थियो ।
इजरायलका रक्षामन्त्री इजरायल काट्जले इजरायली वार्ताकारहरू सन् २०२३ नोभेम्बरको युद्धविरामपछि गाजामा बन्धकहरूको रिहाइका लागि ‘सम्झौताको नजिक नभएको’ सङ्केत गर्नुभयो ।
दोहामा रहेका हमासका एक वरिष्ठ अधिकारीले पनि सोमबार सम्झौताका लागि वार्ता ‘पहिलेभन्दा नजिक’ भएको तर इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अझै पनि ‘सम्झौतामा बाधा पुर्याउन सक्ने’ चेतावनी दिएका छन् ।
रासस/एएफपी