इजरायल र हमासबीच गाजा युद्धविराम गर्ने वार्ता अन्तिम चरणमा

महिनौँको गतिरोधपछि इजरायल र हमासबीच गाजामा युद्धविराम गर्ने वार्ता अन्तिम चरणमा पुगेको छ । इजरायल र हमास गाजामा युद्धविराम र बन्धकहरूलाई रिहा गर्न सहमत हुने नयाँ सङ्केतहरू देखिएका बीबीसीले जनाएको छ ।

अप्रत्यक्ष वार्तामा संलग्न एक वरिष्ठ प्यालेस्टिनी अधिकारीले वार्ता अन्तिम र निर्णायक चरणमा रहेको बताएका खबरमा उल्लेख छ । इजरायलका रक्षामन्त्री इजरायल काट्जले पनि सम्झौता पहिलेभन्दा धेरै नजिक भएको बताउनु भएको छ ।

पछिल्लो केही दिनदेखि अमेरिका, कतार र इजिप्टले मध्यस्थताको प्रयास तीव्र पारेका छन् । इजरायली प्रतिनिधिमण्डल कतारको राजधानी दोहामा रहेको छ ।

प्यालेस्टिनी अधिकारीले युद्धविरामका लागि तीन चरणको योजनामा गाजामा बन्धक बनाएका सर्वसाधारण र महिला सैनिकलाई पहिलो ४५ दिनमा रिहा गरिने बताएका छन् । त्यसपछि इजरायली सुरक्षा बलहरू इजिप्टको सिमानामा सहर केन्द्रहरू, तटीय सडकहरू र रणनीतिक ठाउँहरूबाट फिर्ता हुनेछन् ।

यसैगरी अर्को एउटा संयन्त्र मार्फत गाजाका विस्थापित मानिसहरूलाई फर्काउन पहल हुनेछ । अधिकारीहरुका अनुसार दोस्रो चरणमा, बाँकी बन्धकहरूलाई रिहा गरिनेछ र सैनिकहरूलाई हटाइनेछ । र तेस्रो चरणमा युद्ध रोकिनेछ ।