इजरायलमा हाइपरसोनिक मिसाइल हानेको यमनको हुथी विद्रोहीको दाबी
एजेन्सी । यमनको हुथी विद्रोहीले इजरायलमा हाइपरसोनिक मिसाइल हानेको दाबी गरेको छ । राजधानी तेल अभिभमा रहेको सैन्य बेसमा हाइपरसोनिक मिसाइल प्रहार गरेको हुथी विद्रोहीको दाबी छ ।
गाजापट्टीमा भइरहेको इजरायली नरसंहारको विरोधमा र प्यालेस्टाइनको समर्थनमा हाइपरसोनिक मिसाइल प्रहार गरेको हुथी विद्रोहीको विज्ञप्तिलाई उद्धृत गर्दै चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । हुथी सैन्य प्रवक्ता याह्या सरियाले इजरायलमा हाइपरसोनिक मिसाइल हान्ने आफूहरूको योजना सफल भएको र खुशी मिलेको दाबी गरेका छन् ।
हुथी समूहले गाजामा भइरहेको नरसंहार नरोकेसम्म इजरायलविरुद्ध थप सैन्य अभियानहरू जारी राख्ने चेतावनी दिएको छ । हुथीले मिसाइल प्रहार गर्दा इजरायलको राजधानीमा चेतावनीका साइरन बजेका थिए ।
यसैबीच अमेरिकी–बेलायती सैन्य गठबन्धनले लाल सागरको उत्तर–पश्चिमी यमनको हज्जाह प्रान्तको बाहिस क्षेत्रमा हुथीहरूको मोबाइल रकेट लन्चरमा मिसाइल हमला गरेको दाबी गरेको छ । हुथी–सञ्चालित अल–मसिराह टिभीले आक्रमणको पुष्टि गरेको हाे । आक्रमणमा कम्तीमा पाँच जना हुथी लडाकु मारिएका छन् र सात जना घाइते भएका छन् ।
इजरायलले गाजामा गरिरहेको आक्रमणको विरोधमा हुथीले लाल सागरमा दर्जनौं मालवाहक पानीजहाजमा आक्रमण गरिरहेका छन् । इजरायल र इजरायली गठबन्धनसँग जोडिएका पानी जहाजमा हुथीले आक्रमण गरेर अर्बाैं डलरको क्षति पुर्याएका छन् ।