पालिकामा विपद् व्यवस्थापन कार्य संस्थागत हुन नसकेको एक अध्ययन प्रतिवेदनको निष्कर्ष
काठमाण्डौ । पश्चिम नेपालमा हालै गरिएको गरिएको एक अध्ययनले पालिकामा विपद् व्यवस्थापन कार्य संस्थागत हुन नसकेको देखाएको छ ।
राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा हिजो सार्वजनिक अध्ययन प्रतिवेदनले पालिकालाई विपद् व्यवस्थापनमा थप प्रभावकारी बनाउन स्रोत, साधन, दक्ष जनशक्ति बढाउनुपर्ने आवश्यकता समेत औँल्याएको छ ।
‘आपतकालीन पूर्वतयारी तथा प्रतिकार्य लेखाजोखा अध्ययन प्रतिवेदन’ को निष्कर्षबारे प्राधिकरणको नीति योजना तथा अनुगमन महाशाखा प्रमुख सहसचिव रामबन्धु सुवेदीले विपद् व्यवस्थापन संस्थागत भएको छ, कि छैन भनेर अध्ययन भएको बताउनुभयो ।
यसले पालिकामा विपद् व्यवस्थापनको कार्य संस्थागत हुन नसकेको देखाएको र कतिपय तहमाबाहेक धेरैमा विपद्को मापदण्डभन्दा तल रहेको अवस्था देखाएको छ ।
सहसचिव सुवेदीले ठूलो विपद् भएको अवस्थामा पालिकाले तत्कालै प्रतिकार्य गर्न नसक्ने अवस्था देखिएको जानकारी दिँदै सबै हिसाबले क्षमता विकास गर्न आवश्यक देखिएको बताउनुभयो । उहाँले विपद् व्यवस्थापन कोषको रकम प्रशासनिकलगायतमा बढी खर्च हुने गरेको समेत पाइएको बताउनुभयो ।
पालिकामा उपकरणसहित दक्ष जनशक्तिको अभाव रहेको पाइएको उहाँको भनाइ छ । प्राधिकरणको नेतृत्वमा विभिन्न सहयोगी सङ्घसंस्थाको सहभागितामा भूकम्पको पूर्वतयारी, प्रतिकार्य र सिकाइको विषयमा केन्द्रित भएर अध्ययन गरिएको थियो ।
सुदूरपश्चिमको डोटी, बझाङ, बाजुरा, रुकुम पश्चिम र जाजरकोट गरी पाँच जिल्लाका २८ वटा पालिकामा यो अध्ययन गरिएको थियो ।
कानूनले पालिकालाई विपद्को पहिलो र प्रमुख रेस्पोन्स गर्ने निकायका रुपमा भूमिका दिएको छ । तर त्यही पालिका कमजोर हुँदा विपद् प्रतिकार्य नै कमजोर हुने र त्यसले विपदबाट क्षति बढ्नेतर्फ ध्यान दिनुपर्नेमा जोड दिइएको छ ।