विश्वविख्यात तबला वादक उस्ताद जाकिर हुसैनको निधन

विश्वविख्यात तबला वादक उस्ताद जाकिर हुसैनको निधन भएको छ । अमेरिकाको सान फ्रान्सिस्कोको अस्पतालमा ७३ वर्षीय हुसैनको आज बिहान निधन भएको हो ।

फोक्सोसम्बन्धी रोगको उपचारका क्रममा उहाँको अस्पतालमै निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । पछिल्लो समय स्वास्थ्य खराब हुँदै गएपछि उहाँलाई आईसीयूमा राखेर उपचार भइरहेको उहाँका परिवारलाई उद्धृत गर्दै बीबीसीले लेखेको छ । हुसैनको निधनको खबर आएसँगै श्रद्धाञ्जलीको ओइरो लाग्न थालेको छ ।

उहाँको निधनले सितार र तबलालगायतका वाद्यवादन क्षेत्रमा अपूरणीय क्षति पुगेकाे छ । उस्ताद जाकिर १९८८ मा पद्मश्री पदकद्वारा विभूषित हुनुभएको थियो । त्यसपछि उहाँले २००२ मा पद्मभूषण र २०२३ मा पद्म विभूषण पाउनुभएको थियो । तीबाहेक उहाँले दर्जनौं अवार्डहरू पाउनुभएको छ ।

सन् १९५१ मार्च ९ मा भारतको मुम्बईमा जन्मिएका जाकिरका पिता अल्लाहरक्खा कुरैशी पनि तवला बादक हुनुहुन्थ्यो । उहाँका श्रीमती र दुई छोरी छन् ।