अमेरिकी विदेशमन्त्री ब्लिन्केन इराकको राजधानी बागदादमा

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन अचानक इराकको राजधानी बागदाद पुग्नुभएको छ । अमेरिकी विदेशमन्त्रीले इराकका प्रधानमन्त्री मोहम्मद शिया अल–सुदानीसँग भेटवार्ता गर्नुभएको बीबीसीले जनाएको छ ।

ब्लिन्केन टर्कीको अङ्काराबाट अमेरिकी वायुसेनाको विमान सी–१७ मार्फत बागदाद पुग्नुभएको थियो । उहाँको इराक भ्रमण अमेरिकी दृष्टिकोणबाट निकै महत्त्वपूर्ण रहेको र सिरियाको अवस्थालाई हेर्दा इराकको महत्त्व बढेको खबरमा उल्लेख छ ।

इराक सिरियाको छिमेकी देश हो । सिरियाका क्षेत्रहरूमा तथाकथित इस्लामिक स्टेट समूहलाई नियन्त्रण गर्न र कमजोर पार्ने प्रयासमा अमेरिका र इराकको साझा चासो छ । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले आफ्नो इराक भ्रमणका क्रममा सिरियामा इस्लामिक स्टेट समूहको पुनः उदय हुन नदिन रणनीति बनाउन प्रयास गर्ने बताउनुभएको छ ।

इराकी प्रधानमन्त्रीसँगको वार्तापछि ब्लिन्केनले इराकले अन्य कुनै पनि देशको तुलनामा स्थिरताको आवश्यकतालाई बढी बुझेको बताउनुभएको खबरमा उल्लेख छ ।

गएको हप्ता विद्रोहीहरूले राजधानी दमास्कससहित देशका तीन ठूला शहरमा नियन्त्रण कायम गरेपछि राष्ट्रपति बसर अल–असद सिरिया छोडेर शरण लिन रुस पुग्नुभएको छ । असद पलायन भएपछि सिरियामा ठूलो राजनीतिक रिक्तताउत्पन्न हुने देखिएको छ ।