पर्वतीय क्षेत्रलाई जलवायु सङ्कटबाट जोगाउन सहकार्य गर्नुपर्नेमा जोड : प्रमुख डा. सिन्धुप्रसाद ढुङ्गाना

काठमाण्डौ। पछिल्लो समय जलवायु परिवर्तनले निम्ताउँदै गरेको सङ्कट न्यूनीकरणका लागि सहकार्य आवश्यक रहेकामा सरोकार भएकाहरूले जोड दिएका छन् ।

अन्तर्राष्ट्रिय पर्वतीय दिवसका अवसरमा काठमाण्डौमा आयोजित २ दिने राष्ट्रिय गोष्ठीअन्तर्गत आज दोस्रो दिनको सत्रमा सहभागी विभिन्न सरोकार भएका निकायका प्रतिनिधिले हिमाली क्षेत्रमा परेको जलवायु परिवर्तनको असर न्यूनीकरण र अनुकूलन गर्न सहकार्य आवश्यक रहेकामा जोड दिएका हुन् ।

वन तथा वातावरण मन्त्रालयअन्तर्गत जलवायु व्यवस्थापन महाशाखाका प्रमुख डा. सिन्धुप्रसाद ढुङ्गानाले सबै सरोकार भएका निकायसँग सहकार्य र समन्वय गरी जलवायु परिवर्तनको असर न्यूनीकरण र अनुकूलनका कार्यक्रम अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो ।

जलवायु परिवर्तनको बढी जोखिम पर्वतीय क्षेत्रमा परिरहेको छ, यसले हिमालको हिउँ पग्लिरहेको छ, हिमताल फुट्ने तथा हिमपहिरोको जोखिम भएको यस्ता समस्या समाधान गर्न वन तथा वातावरण मन्त्रालय एक्लैले सम्भव नभएको अन्य सरकारी निकाय, दातृ निकाय, प्रदेश तथा स्थानीय सरकार र अन्य सरोकार भएका निकायहरूको पनि सहयोग जरुरी रहेको उहाँले बातउनुभयो ।

ढुङ्गानाका अनुसार सङ्घीय व्यवस्थापन कार्यान्वय भएपछि केन्द्रबाट जलवायु वित्त अनुदान प्रदेश र स्थानीय तहमा पठाउन र ती निकायबाट समयमा बजेट खर्च गर्न चुनौती रहेको छ । जलवायु परिवर्तनले पारेका नकारात्मक असर समाधान गर्न प्रभावकारी अनुसन्धान हुन आवश्यक भएको र राष्ट्रिय निर्धारित योगदान ९एनडिसी० अझै महत्काङ्क्षी बन्ने छ, आवश्यक पर्ने लगानीका लागि अन्तर्राष्ट्रिय जलवायु वित्तमा पहुँच बढाउन उहाँले बातउनुभयो ।

जलवायुविद् राजु पण्डित क्षेत्रीले जलवायुजन्य सङ्कट समाधानका लागि आवश्यकता अनुसारको जलवायु वित्त आभाव रहेको भन्दै केन्द्रीय, प्रदेश तथा स्थानीय सरकारले जलवायुमैत्री बजेट तर्जुमा गर्न आवश्यक रहेकामा जोड दिनुभयो ।

जलवायुविद् डा विमल रेग्मीले जलवायुजन्य विपद्को जोखिम न्यूनीकरणका लागि पूर्वसूचना प्रणाली प्रभावकारी बन्दै गइरहेको भन्दै जलवायुजन्य सङ्कट समाधान गर्न पूर्वतयारी तथा पूर्वसूचना प्रणालीमा लगानी बढाउन आवश्यक रहेकामा जोड दिनुभयो ।

जलवायु अनुकूलनसम्बन्धी अन्य देशमा भएका राम्रा अभ्यासको सिकाइबाट नेपालमा अनुकूलनसम्बन्धी कार्यक्रमको प्रभावकारी रूपमा कार्यन्वयन गर्नुपर्ने र स्थानीय आवश्यकता अनुसार प्रविधि विकासमा लगानी बढाउन जरुरी भएको लगानी नगरेसम्म प्रतिफल आउन नसक्ने उहाँले बातउनुभयो । रासस