किबी खेतीबाट वार्षिक १० लाख आम्दानी
डडेल्धुरा । जिल्लाको आलिताल गाउँपालिका-२ लामिटुडाका ४१ वर्षीय लक्ष्मण थापा मगरले व्यावसायिक रूपमा किबी खेती गरी वार्षिक १० लाख भन्दा बढी आम्दानी गर्दै आउनुभएको छ ।
विसं २०७० देखि व्यावसायिक किबी खेती सुरु गर्नुभएका मगरको दैनिकी किबीको हेरचाह, गोडमेल, बजार व्यवस्थापनलगायतमा बित्दै आएको हो । उहाँको बगानमा लटरम्म पाक्न लागेका ६० क्विन्टल जति किबीे फलेको छ ।
शिक्षण पेसालाई छाडेर आधिकारिक रूपमा ‘ध्रुव कृषि फार्म’ दर्ता गरी व्यावसायिक किबी खेती थाल्नुभएका मगरले अहिले १५ रोपनीभन्दा बढी क्षेत्रफलमा खेती गरिरहेको बताउनुभयो । किबी खेतीमा सम्भावना देखेर यो पेसा अपनाएको बताउँदै उहाँले सुरुमा दोलखाबाट एक सय १० बोट ल्याएर खेती गरेको जानकारी दिनुभयो ।
किबी खेतीसम्बन्धी विभिन्न ठाउँमा पुगेर विज्ञहरूबाट तालिमसमेत लिएको भन्दै मगरले बिबिसी नेपाली सेवामा प्रसारण हुने ‘साझा सवाल’ कार्यक्रममा किबी खेतीबारे छलफल सुनेपछि सुरु गरेको जानकारी दिनुभयो । विसं २०७३ मा पहिलो पटक तीन क्विन्टल उत्पादन बताउँदै उहाँले अहिले वार्षिक ७० देखि ७५ क्विन्टलसम्म उत्पादन हुने गरेको उल्लेख गर्नुभयो ।
पछिल्लो समय ७५ क्विन्टलसम्म उत्पादन भएको बताउँदै मगरले आगामी वर्षदेखि अनुमानित १ सय ५० क्विन्टलसम्म उत्पादन हुने गरी खेती विस्तार गर्न लागेको जानकारी दिनुभयो । हाल बिरुवा र फलबाट वार्षिक १० लाख भन्दा बढी आम्दानी गरिरहनु भएका किसान मगर आगामी वर्षदेखि आम्दानी वृद्धि हुनेमा ढुक्क हुनुहुन्छ ।
६ देखि ८ मिटरको दूरीमा रोपिने किबीलाई अन्य बालीलाई भन्दा कम मेहनत गर्दा पनि पर्याप्त उत्पादन लिन सकिने मगरले बताउनुभयो । लहरे फलका रूपमा रहेका किबीले लगाएको ३ वर्षदेखि फल्न सुरु भई ५० वर्षसम्म निरन्तर उत्पादन दिने गर्छ । किबी फललाई चाउरीपन, उच्च रक्तचाप, पोषण, छाला तथा मुटुका रोगीले सेवन गर्नु फाइदाजनक मानिने चिकित्सकहरू बताउँछन् ।
रासस