नेपाल र एडीबीबीच दुई वटा परियोजनाका लागि २१ अर्ब २३ करोड रुपैयाँको सहयोग सम्झौता
काठमाण्डौ – नेपाल सरकार र एसियाली विकास बैंक –एडीबी) बीच दुई परियोजनाका लागि २१ अर्ब २३ करोड रुपैयाँ अर्थात एक सय ५७ मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण तथा अनुदान सम्झौतामा हस्ताक्षर भएको छ ।
यान्त्रिक सिँचाइ नवप्रवर्तन परियोजना (मेसिनाइज्ड इरिगेसन इन्नोभेसन प्रोजेक्ट–एमआइआइपी) र जलवायु उत्थानशील तथा जीविकोपार्जन परियोजना (सीआरएलएलपी) कार्यान्वयनका लागि सहयोग सम्झौतामा हस्ताक्षर भएको हो ।
हिजो अर्थ मन्त्रालयमा भएको सम्झौताअनुसार यान्त्रिक सिँचाइ नवप्रवर्तन परियोजनाका लागि एडीबीले १४ अर्ब ८८ करोड रुपैयाँ ऋण तथा दुई अर्ब रुपैयाँ अनुदान दिनेछ ।
त्यस्तै, जलवायु उत्थानशील तथा जीविकोपार्जन परियोजनाका लागि एक अर्ब ३५ करोड रुपैयाँ ऋण तथा दुई अर्ब ९७ करोड रुपैयाँ अनुदान सम्झौता भएको हो ।
मधेश प्रदेशको रौतहट र सर्लाही जिल्लामाा लागू गरिने यान्त्रिक सिँचाइ परियोजनाअन्तर्गत उन्नत सिँचाइ प्रविधि लागू गरिनेछ । जसमा किसानले ‘प्रिपेड कार्ड’को माध्यमबाट आवश्यकतानुसार पानी उपयोग गर्नसक्ने सुविधा प्रदान गरिनेछ । यस परियोजनाबाट एक लाख २१ हजारभन्दा बढी किसान लाभान्वित हुने विश्वास लिइएको छ ।
परियोजनाको मुख्य उद्देश्य कृषिको उत्पादकत्व वृद्धि, वर्षभर सिँचाइ सुनिश्चितता र खाद्य सुरक्षा प्रवद्र्धन गर्नु हो । त्यसैगरी जलवायु उत्थानशील तथा जीविकोपार्जन परियोजनाका कर्णाली र सुदूरपश्चिम प्रदेशका ग्रामीण समुदायलाई जलवायु परिवर्तनका असरहरुप्रति प्रतिरोधी बनाउने उद्देश्यले सञ्चालन हुनेछ ।
यसले खानेपानीको समस्या समाधान गर्न, प्रकृतिमा आधारित जीविकोपार्जन प्रवर्द्धन गर्न र स्थानीय समुदायलाई दिगो जल व्यवस्थापन, कृषि वन र वन व्यवस्थापनका माध्यमबाट सशक्त बनाउन योगदान पुर्याउने अपेक्षा गरिएको छ ।