वैदेशिक रोजगारीमा बेलायत र रोमानिया पठाइदिने भन्दै ठगी गर्ने २ जना पक्राउ

काठमाण्डौ । वैदेशिक रोजगारीमा बेलायत र रोमानिया पठाइदिने भन्दै ठगी गर्ने २ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा रुपन्देहीको देवदह नगरपालिका–१२ घर भई काठमाण्डौ महानगरपालिका–२८ बस्ने ३२ वर्षका गीता कुँवर र कास्कीको पोखरा महानगरपालिका–२५ घर भई काठमाण्डौको टोखा नगरपालिका–६ बस्ने ३० वर्षका मधु तिमल्सिना अधिकारी रहेका छन् ।

कुँवरले बेलायत पठाइदिने भन्दै ८ जनाबाट १६ लाख ५ हजार र तिमल्सिनाले ३  जनाबाट ७ लाख रुपैयाँ उठाएर सम्पर्कविहीन भएका काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

उनीहरूलाई काठमाण्डौ उपत्यकाका विभिन्न ठाउँबाट पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको कार्यालयका प्रहरी उपरीक्षक एवम् सूचना अधिकारी काजीकुमार आचार्यले बताउनुभयो ।