एनपिएल: काठमाण्डौ गुर्खाज विजयी, लुम्बिनी लायन्स प्ले अफको दौडबाट बाहिरियो

काठमाण्डौ । काठमाण्डौ गुर्खाजसँग पराजित भएसँगै लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपिएल) बाट बाहिरिएको छ।

आज भएको खेलमा काठमाण्डौसँग लुम्बिनी १८ रनले पराजित भएको हो । लिग चरणमा कर्णाली याक्ससँग खेल्न बाँकी लुम्बिनीले चितवन राइनोजलाई ३३ ले मात्रै हराउन सक्यो। बाँकी खेलमा हार बेहोरेको लुम्बिनी प्रतियोगिताबाट बाहिरिने पहिलो टोली बन्यो।

यता, काठमाण्डौले भने दोस्रो जित हासिल गरेको छ। काठमाण्डौले यसअघि कर्णाली याक्सलाई ३ विकेटले पराजित गरेको थियो।

काठमाण्डौले दिएको १०४ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १९.२ ओभरमा सबै विकेट गुमाउँदै ८५ रन मात्रै बनाउन सक्यो । लुम्बिनीका सन्दीप जोराले सर्वाधिक २६ रन बनाए। २९ बल खेलेका उनले २ चौका प्रहार गरे। सूर्य तामाङ ११ रनमा अविजित रहे।

उन्मुक्त चन्दले १४ रन बनाउँदा अन्यले दोहोरो अंक छुन सकेनन्। काठमाण्डौंका कप्तान करण केसीले सर्वाधिक ४ विकेट लिए। ४ ओभर बलिङ गरेका उनले १६ रन खर्चिए । दीपेश कँडेलले तीन, ग्रेहार्ड इरास्मसले दुई र रासिद खानले एक विकेट लिए। त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको काठमाडौंले १९.२ ओभरमा सबै विकेट गुमाउँदै १०३ रन बनाएको थियो ।

काठमाण्डौका भीम सार्कीले सर्वाधिक ३१ रन बनाए । ४० बल खेलेका उनले एक चौका प्रहार गरे । डन डाउथवेटले २१, प्रतिश श्रेष्ठले २० र स्टेफन इन्कान्जीले १३ रन बनाए । लुम्बिनीका साद बिन जाफरले सर्वाधिक ३ विकेट लिए । रामोन सिमोन्ड्स र अभिषेक गौतमले समान २ विकेट लिए।