लुम्बिनीमा इ-रिक्सा नियमन सुरु

लुम्बिनी । रुपन्देहीको सद्धार्थनगर नगरपालीकाले नगरको ट्राफिक व्यवस्थापनमा मुख्य चुनौतीको रुपमा देखिएका अटो टेम्पो तथा इ-रिक्सा (तिनपाङग्रे) सवारीसाधन व्यवस्थापनको लागी नियमन सुरु गरेको छ ।

सबै सरोकारवालाहरुको सर्वपक्षिय छलफलबाट बिना दर्ता र अव्यवस्थित रुपमा भैरहवा क्षेत्रमा सञ्चालन हुँदै आएका अटो टेम्पो तथा इ-रिक्सालाई व्यवस्थित गर्न सिद्धार्थनगर नगरपालिकाले मापदण्ड तयार पारेको थियो । उक्त मापडण्ड अनुसार सिद्र्धानगरमा बढीमा ५ सय अटो तथा ईरिक्सा सञ्चालन गर्न पाउने व्यवस्था छ ।

त्यसका लागि नगरपालिकाले पटकपटक सूचना प्रकाशित गरी ४ सय ७३ वटा ई रिक्सा दर्ता गराएको छ। अब दर्ता भएका ई रिक्सालाई मात्र नगरभित्र सञ्चालन गर्न दिनका लागि नियमन सुरु भएको हो । जिल्ला ट्राफीक प्रहरी कार्यालय रुपन्देहीको सहकार्यमा नियमन अभियान सुरु गरिएको हो ।

नगरपालिकाले हालै मात्र भर्ना गरेका नगर प्रहरी खटाएको छ । बुधबरदेखि एक हप्तासम्म नियमन गरिने र त्यसपछि अटेर गर्नेलाई कारबाही प्रकृयामा अगाडी बढाईने सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जनक थापाले जानकारी दिनुभयो । दर्ता भए नभएको सजिलै छुटयाउनको लागि नगरपालिकामा दर्ता भएका ई रिक्सालाई पहेलो रगंको हाफ ज्याकेट समेत वितरण गरिएको छ ।

सिद्धार्थनगर नगरपालीकाका प्रमुख ईस्तियाक अहमद खानले नगरमा व्यवस्थित पाकीङ्ख गरी ट्राफीक व्यवस्थापन गर्ने, नगरकलाई सुन्दरीकरण गर्ने, सही भाडादर लागु गर्ने उद्येश्यका साथ इ रिक्साको नियमन सुरु गरिएको बताउनुभयो ।

सिद्धार्थनगर नगरपालिकाकी उप प्रमुख उमा अधीकारीले ई रिक्सा व्यवस्थापनका लागि आफूहरु निर्वाचीत भएर आए देखिनै लागि परेको र अहीले यो अभियान सफताउन्मुख भएको बताउनुभयो । उहाँले नगरपालिकाले तोकेको मापदण्ड पुरा गरेर मात्र आफ्ना ईरिक्सा चलाउन सम्बन्धीत सवारी धनीहरुलाई आग्रह समेत गर्नुभयो ।

जिल्ला ट्राफीक प्रहरी कार्यालय रुपन्देहीकी प्रमुख प्रहरी निरिक्षक रन्जु केसीले अटो टेम्पो तथा इरिक्सासँग सम्बन्धित मापदण्ड पूर्ण रुपमा कार्यान्यवनमा लगिने भएकाले मापदण्ड पुरा गरेर मात्र तीनपाङग्रे सवारी साधन चलाउन आग्रह गर्नुभयो ।

नगरपालिकामा दर्ता हुनका लागि सम्बन्धित व्यवसायीसँग ब्लू–बुक, सवारीचालक अनुमतिपत्र र बिमालाई अनिवार्य गरिएको छ । गैरनेपाली नागरिक र बिना दर्ताका अटो टेम्पो तथा इरिक्सा संचालनमा भने प्रतिबन्ध लगाइएको छ ।

मापदण्ड अनुसार मुख्य सडकबाहेक किनाराका सर्भिस लेन र नगरका भित्रि सडकमा सञ्चालन गर्नु पर्ने, रुट इजाजत लिनु पर्ने, यात्रुसँग निर्धारित भाडामात्र लिनु पर्ने, तोकिएको स्थलमा मात्र पार्किङ गरिनु पर्ने, नगरपालिकामा दर्ता भएको संकेत सवारी साधनको अग्रभागमा राख्नु पर्ने लगायतका मापदण्ड छन् ।