काभा पुरुष भलिबलमा आज माल्दिभ्स र भारतको क्लब तथा नेपाल र इरानको टोली खेल्दै

काठमाण्डौ । काभा पुरुष भलिबल क्लब च्याम्पियनशिपमा आज पनि दुई खेल हुँदैछन् । पहिलो खेलमा माल्दिभ्सको क्लब एचडीसी र भारतको क्यालीकट हिरोजबीच प्रतिस्पर्धा हुनेछ । त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा पहिलो खेल दिउँसो साढे २ बजे हुनेछ ।

यस्तै आजै बेलुका ५ बजे हुने दोस्रो खेलमा नेपालको गण्डकी प्रदेश भलिबल र इरानको युवा टोली प्रतिस्पर्धा गर्दैछन् । प्रतियोगितामा नेपालबाहेक भारतको क्यालीकट हिरोज, इरानी टोली र माल्दिभ्सको क्लब एचडीसीको सहभागिता छ ।

८ दिनसम्म चल्ने च्याम्पियनशिपमा कुल १४ खेल हुनेछन् । सिङ्गल राउन्ड रोबिन लिगमा १० खेल हुनेछन् । लिगमा उत्कृष्ट हुने ४ टिमले सेमिफाइनलमा स्थान बनाउनेछन् ।

लिगको शीर्ष टिमले तेस्रो हुने टिमसँग र दोस्रो हुनेले चौथो स्थानमा लिग सकाउने टोलीसँग सेमिफाइनल खेल्नेछ । लिग चरणबाट एक टिम बाहिरिनेछ । फाइनल खेल मङ्सिर २९ गते हुनेछ ।