हुम्लामा हिमपात, किसान खुशी ( फोटो फिचर )

हुम्ला । हुम्लामा यस वर्ष पहिलोपटक हिमपात भएको छ । गएरातिदेखि आज बिहानसम्म सदरमुकाम सिमकोटमा तीन इञ्च हिउँ जमेको छ भने उत्तरी नाम्खा गाउँपालिकाको उच्च भेगमा रहेको लिमीलगायतका क्षेत्रमा एक फिट हिउँ जमेको लिमी स्वास्थ्यचौकीमा कार्यरत लोग बोहराले बताउनुभयो ।

यसवर्ष ढिला गरी जिल्लामा हिमपात शुरु भएसँगै यहाँका किसान खुशी भएका छन् । हुम्लीवासीले हिमपातपछि मौसम ठीक हुने र खेती सप्रिने विश्वाससमेत राखेका छन् । हिमपातले गहुँ, जौ र उवा खेतीलाई राम्रो हुने भन्दै जिल्लाका किसान खुशी भएका छन् ।

हिमपातपछि सदरमुकाम सिमकोट र आसपासका डाँडाकाँडा सेताम्मे भएका छन् । हिमपातसँगै चिसो बढेको छ भने हुम्लाको तापक्रम यसअघि नै माइनसमा झरीसकेको छ ।

हुम्लामा आइतबार रातिदेखि हिमपात भएसँगै सोबार बिहान सेताम्ये देखिएको हुम्ला सदरमुकमा सिमकोटका बस्ती । यो वर्ष ढिलो गरि हुम्लामा हिमपात भएको छ । तस्बिर : दाने बोहरा / रासस