सिरियाको राजधानी कब्जा गरेको समूहद्वारा सरकारी टीभी र रेडियोबाट सन्देश जारी

सिरियाको राजधानी दमास्कस कब्जा गरेपछि विद्रोही समूहले सरकारी टेलिभिजन च्यानल र रेडियोबाट विभिन्न सन्देशहरू जारी गरेको छ । हयात तहरीर अल–शम (एचटीएएस) नेतृत्वको विद्रोही समूहले राष्ट्रपति बशर अल–असदको शासनको अन्त्य गरेको घोषणा गर्दै राजनीतिक बन्दीहरूलाई जेलबाट रिहा गर्न पनि आह्वान गरेको छ । विद्रोही समूहले बशर अल–असदले देश छोडेको दाबी गरेका छन् ।

विभिन्न अन्तर्राष्टिय सञ्चारमाध्यमले पनि असदले देश छाडेको बताएका छन्, तर उहाँ कहाँ जानुभयो भन्ने खुलेको छैन । हिजो सिरियाको तेस्रो ठूलो शहर होम्स कब्जा गरेपछि विद्रोहीहरूले आज सिरियाको राजधानी दमास्कस कब्जा गरेका हुन् ।

यसैबीच सिरियाका प्रधानमन्त्री मोहम्मद गाजी अल–जलालीले देशमा स्वतन्त्र चुनाव गराउनुपर्ने बताउनुभएको छ । उहाँले सिरियाका नागरिकले मतबाट नेता छान्न पाउनुपर्ने बताउनुभएको हो । उहाँले विद्रोही कमाण्डर अबु मोहम्मद अल–जवलानीसँग सम्पर्कमा रहेको पनि उल्लेख गर्नुभएको छ ।

सिरियामा सन् २०११ मा शुरु भएको एउटा सामान्य आन्दोलनले ठूलो गृह युद्धको रूप लिएको छ । पछिल्लो एक हप्तामा भने विद्राहीले अकल्पनीय रूपमा विभिन्न शहर कब्जा गर्दै अहिले राजधानी नै कब्जा गरेका हुन् । सिरियामा अमेरिका र बेलायतसहित पश्चिमा देशले एउटा समूहलाई सहयोग गरेका छन्, टर्कीले छुट्टै विद्रोही समूहलाई सहयोग गरेको छ । राष्ट्रपति असदलाई भने रुस, लेबनान, इरान लगायतका देशको समर्थन र सहयोग छ ।

युद्धमा ५० हजार जनाभन्दा धेरैको ज्यान गएको छ भने छ लाख जना विस्थापित छन् । सन् २००० अर्थात् २४ वर्षदेखि सत्तामा रहेका राष्ट्रपति बशर अल असदले देशलाई विदेशीहरुका इच्छा पूरा गर्ने थलो बन्न नदिने बताउँदै आउनुभएको थियो ।
एजेन्सी