चीन भ्रमण देशका लागि उपलब्धिमूलक : प्रधानमन्त्री ओली

झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमण देशका लागि उपलब्धिमूलक भएको बताउनुभएको छ। प्रधानमन्त्री ओलीले आफू केही समयपछि भारत भ्रमण पनि जाने जानकारी गराउनुभयो।

झापाको दमक नगरपालिका-३, दापगाछीस्थित ‘दमक व्यापारिक कम्प्लेक्स’को उद्घाटनपछि सो कुरा बताउनुभएको हो ।

मुख्य बजार क्षेत्रबाट चार किमी दुरीमा पर्ने सो १८ तले कम्प्लेक्स रु.एक अर्ब ६३ करोड ५४ लाख ४६ हजार लागतमा बनेको हो।

यसअघि प्रधानमन्त्री ओलीले झापाको मेचीनगर नगरपालिका-४, आमडाँडीस्थित मानवसेवा आश्रमको जिल्ला कार्यालयको भवन उद्घाटन र मानवसेवा स्मारकको भवन शिलान्यास गर्नुभएको थियो। कार्यक्रममा आश्रमका लागि दुई बिगाहा पाँच कठ्ठा जग्गा दिने स्थानीय रामबहादुर प्रधान र परिवारलाई सम्मान गरिएको थियो ।

भव्य जनसहभागितामा भएको उद्घाटन कार्यक्रममा प्रथम महिला राधिका शाक्य, उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह, कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीलगायत सहभागी हुनुहुन्छ।