सिरियाको दोस्रो ठूलो शहर अलेप्पो पनि विद्रोहीले कब्जा गरे

सिरियाको विद्रोही समूहले दोस्रो ठूलो शहर अलेप्पो पनि कब्जा गरेका छन् । सिरियाली राष्ट्रपति बशर अल–असदविरुद्ध विद्रोहीहरूले गरेको अभियानले अलेप्पो र हामा शहर कब्जा गरिसकेका र अब राजधानी दमास्कस पुग्ने डर बढाएको बीबीसीले जनाएको छ ।

बेलायतमा आधारित सिरियन ओब्जर्वेटरी फर ह्युमन राइट्स ९एसओएचआर० का अनुसार विद्रोहीहरू होम्सतर्फ गइरहेका छन् । यदि विद्रोहीहरूले होम्स पनि कब्जा गरे भने सिरियाको राजधानी दमास्कसले धेरै शहरहरूसँग सम्पर्क गुमाउनेछ ।

हामा शहर कब्जा गरेपछि विद्रोही समूह हयात तहरीर अल–शामका नेता अबु मोहम्मद अल–जवलानीले विजयको घोषणा गरेका छन् । राष्ट्रपति बशर अल–असदले भने देश टुक्राउने अभियानमा लागेका विद्रोहीलाई अमेरिका र पश्चिमाहरूले सहयोग गरिरहेको भन्दै चर्को निन्दा गर्नुभएको छ ।

विद्रोहीले कब्जा गर्न थालेको हल्लासँगै देशको तेस्रो ठूलो शहर होम्सबाट हजारौं नागरिक भागिरहेका छन् । सन् २०११ देखि सिरियामा गृहयुद्ध चलिरहेको छ । त्यहाँ विभिन्न क्षेत्रमा विभिन्न समूहले शासन गरिरहेका छन् ।

राष्ट्रपति अशदलाई इरान, रुस र लेबनानी समूह हिजबुल्लाहबाट सहयोग रहेको छ । अमेरिका, बेलायत, टर्कीलगायतका देशले स्वार्थअनुसार विभिन्न विद्रोही समूहलाई समर्थन गर्दै आएका छन् । अहिले इजरायलसँगको द्वन्द्वका कारण इरान र हिजबुल्लाह कमजोर भएको तथा युक्रेनसँगको युद्धका कारण रुस पनि कमजोर भएकाले सिरियाली राष्ट्रपति असदसमेत समस्यामा हुनुहुन्छ । यही मौकामा विद्रोहीले धमाधम शहरहरू कब्जा गर्न लागेका हुन् ।

 सन् २०११ मा गृहयुद्ध शुरू भएपछि सिरियामा पाँच लाख जनाभन्दा धेरै मानिसको ज्यान गएको छ ।
एजेन्सी