बीआरआईको समझदारीमा नेपालले ऋण लिने विषय उल्लेख भएको छैन : प्रधानमन्त्री ओली

काठमाण्डौ । चीनको चारदिने औपचारिक भ्रमण पूरा गरी प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फिर्ता हुनुभएको छ ।

प्रधानमन्त्री ओलीलाई उपप्रधानमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक लगायतले त्रिभुवन विमानस्थलमा स्वागत गर्नुभएको छ । त्यसपछि भएको पत्रकार सम्मेलनमा ओलीले बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) को समझदारीमा नेपालले ऋण लिने विषय उल्लेख नभएको र चीनसँग यस्तो कुरा पनि नभएको बताउनुभएको छ । आफूले यो भ्रमणमा ऋण सम्झौता नगरेको ओलीको भनाइ छ । आफूले पटक–पटक यो विषयमा स्पष्ट पार्दा पनि अनावश्यक हल्ला भइरहेकोमा ओलीले असन्तुष्टि पोख्नुभयो ।

पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीले अब भारत भ्रमणको पनि योजना बनाउने बताउनुभएको छ । उहाँले भारतको भ्रमण कहिले हुन्छ भनेर ठ्याक्कै भन्न नसकिने तर व्यवस्था मिलाउनुपर्ने बताउनुभयो । आफ्नो चीन भ्रमणलाई लिएर भारतीय सञ्चारमाध्यमले अनावश्यक बहस चलाएको उहाँको तर्क छ । एमाले र कांग्रेस नेतृत्वको सरकारले पूर्ण कार्यकाल सरकार चलाउने र अबको १७ महिनापछि आफूले सरकारको नेतृत्व कांग्रेसलाई दिने उहाँको भनाइ छ ।

प्रधानमन्त्री ओली चीनका प्रधानमन्त्री ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा गएको सोमबार नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यहाँ जानुभएको थियो । बेइजिङमा रहँदा प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी जिनपिङसँग समेत भेटवार्ता गर्नुभएको थियो । त्यस अवसरमा उहाँहरूबीच नेपाल–चीन सम्बन्धका साथै द्विपक्षीय हित र चासोका विविध विषयमा विचारविमर्श भएको थियो ।

भ्रमणका क्रममा प्रधानमन्त्री ओली र उहाँका चिनियाँ समकक्षीको उपस्थितिमा नेपाल र चीनबीच विभिन्न समझदारी भएका छन् । यसै अवसरमा नेपाल र चीनबीच बिआरआई फ्रेमवर्कसहित विभिन्न महत्त्वपूर्ण सम्झौता भएका छन् ।