बारा गढीमाई मेलामा लाखौँ मानिसको घुँईचो

विश्व प्रसिद्ध बारा बरियारपुर स्थित लागेको पंचवर्षीय गढीमाई मेलामा अहिले लाखौँ मानिसको घुँईचो लागेको छ। मेलामा आउने जाने यात्रुलाई सहज हुने गरी मौलापुर नगरपालिकाले मूल बाटो मर्मत सुरु गरेको छ।

गत असोज महिनामा लालबकैया नदीमा आएको बाढबाट क्षतिग्रस्त जयनगर-मौलापुर-वीरगन्ज सडक मर्मत गर्न सम्बन्धित निकाय तथा सरकारले वास्ता न गरे पछि मौलापुर नगरपालिकाले मर्मत तथा निर्माण कार्य सुरु गरेको हो । एतिहासिक पञ्चवर्षीय गढीमाई मेलालाई ध्यानमा राखेर नगरपालिकाले सडक मर्मत तथा निर्माण कार्य सुरु गरेको मेयर रिना कुमारी साहले बताउनुभयो ।

पूर्व मन्त्री तथा आमजनता पार्टीका अध्यक्ष प्रभु साहले मौलापुर नगरपालिकाले गरेको कार्य सराहनीय भएको बताएका छन् । केन्द्र र प्रदेश सरकारको मातहतमा रहेका सडकहरूको मर्मत र संचालनको जिम्मा सम्बन्धित सरकारहरूले नै लिनुपर्ने हो तर यी सरकारहरू अनैतिक कर्ममा लागेकोले बाढीबाट क्षतिग्रस्त संरचनाहरू अलपत्र परेको अध्यक्ष साहले टिप्पणी गर्नुभयो ।

बारा बरियारपुर स्थीत गढीमाई मन्दिरमा लागेको पंचवर्षीय मेलामा यस पटक २ करोड मानिस आउने आयोजकको अनुमान रहेको छ। मेलामा पुग्ने चौतर्फी बाटोमा १०११५ किलोमीटर टाढा बाट नै हजारौँ मानिसको घुँईचो लाग्ने गर्दछ।

गत १७ गते औपचारिक रूपमा राष्ट्रपती रामचन्द्र पौडेलले उद्घाटन गरेको बारा बरियारपुर स्थित गढीमाई मेलामा अहिले लाखौँ मानिसको घुँईचो लागेको छ। गढीमाई मन्दिरमा यस पटक आगामी २३ गते आइतबार बली प्रदान गरिने मूल पुजारी मंगल चौधरीले बताएका छन्। गढीमाई मन्दिरका मूल पुजारी चौधरीसँग मिलेर मूल तान्त्रिक उमाशंकर धामी कछाडियाले आफ्नो शरीरको ५ स्थानबाट रगत निकालेर देवी लाई चढाएपछि पशुबली सुरु हुने चलन रहिआएको छ।

रोग शोक निको हुने, सन्तान प्राप्तिका साथै माताको नामले गरिएको भाकल पूरा भएपछि पंचवर्षीय मेलामा हजारौँ मानिसले परेवा, बोका, राँगा लगायतको बली चढाउने गर्दछन्। मेलामा नेपालको अधिकांश जिल्लाका मानिसका साथै भारतबाट लाखौँ मानिस आउने गर्दछन्।